समाचार

‘मेरो कित्ता’को पहिलो सेवाग्राही बनिन् थानकोटकी दमन्ता, कसरी लिने सेवा?

काठमाडौं : नापी विभागले आफ्ना कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुलाई डिजिटलाइज गर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभागले तयार गरेको अनलाइन सेवा प्रणाली ‘मेरो कित्ता’ बिहीबार उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले मेरो कित्ताको बारेमा बनेको श्रव्य दृश्य शुरु गरेको केही बेरमै नापी कार्यालय कलंकीको सेवाग्राहीको निवेदन प्रिन्ट भएको छ। प्रिन्ट भएको उक्त लालपूर्जा प्रधानमन्त्री ओलीले थानकोट महादेवस्थान स्थान निवासी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगानालाई हस्तान्तर गरे।

यससँगै यो प्रणाली प्रयोग गरेर सेवाग्राहीले इन्टरनेटमार्फत् नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट पाउनुका साथै फिल्ड रेखाङ्कनको निवेदन दिन सक्ने विभागले जनाएको छ।

कित्ताबाट सेवा लिन सम्बन्धित सेवाग्राहीले आफ्नो जग्गाधनी प्रमाणपुर्जा र नागरिकता अपलोड गर्नुपर्ने हुन्छ। सेवाग्राहीहरुले सम्बन्धित नापी कार्यालयमा पेश गर्ने निवेदनसमेत अनलाइन नै बुझाउन सक्नेछन्। जसका लागि मेरो कित्ताको वेबसाइटमा विवरण भर्न मिल्ने प्रणाली विकास गरिएको विभागले जनाएको छ।

साथै, सेवाग्राहीहरुले आफुले पेश गरेको निवेदनको अवस्था बारेमा पनि अनलाइन प्रणालीमा मोबाइल नम्बर र त्यसमा आउने ओटीपी कोड हालेर बुझ्न सक्ने विभागले जनाएको छ।

विभागले तत्काललाई यो सेवा काठमाडौं उपत्यकाका तीनवटा नापी कार्यलयमा मात्रै सुरु गरेको छ। विभागले नापी कार्यालय कलंकी, डिल्लीबजार र भक्तपुरबाट अनलाइन सेवा प्रणाली मेरो कित्ता सुरुआत गरेको छ।

निकट भविष्यमा देशका अन्य नापी कार्यालयका सेवाग्राहीहरुले पनि अनलाइन प्रणालीबाट सेवा पाउने गरी काम गरिने विभागले जनाएको छ।

कसरी लिने सेवा?

साधारण प्रयोगकर्ताहरुले सेवा प्राप्त गर्न तोकिएको ढाँचामा अनलाइन निवेदन पेश गर्नुपर्छ। निवेदन पेश भए पश्चात मोबाइलमा ओटीपी कोड आउँछ। सेवाको अवधिभर सो कोड आवश्यक हुने विभागले जनाएको छ।

कार्यालयहरुबाट सेवाको विवरण जाँच भएपछि तिर्नुपर्ने राजश्व रकम एसएमएसबाट रजिस्टर गरिएको मोबाइलमा प्राप्त हुनेछ। सेवाग्राहीले राजस्व तिर्न मेरो कित्ताको आधिकारिक वेबसाइटमा गएर मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्रणालीमा जोडिएका विद्युतीय माध्यम वा भौचर प्रिन्ट गरी सम्बन्धित बैंकबाट दाखिला गर्न सक्ने विभागले जनाएको छ।

भुक्तानी प्राप्त भएपछि सम्बन्धित नापी कार्यालयहरुले नक्साको डिजिटल कपी अपलोड गरी सेवाग्राहीको मोबाइलमा एसएमएस पठाउने बताइएको छ।

उक्त नक्सा प्राप्त गर्न सेवाग्राहीले पुन: मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीहरुले उक्त नक्सा एक हप्ता भित्र डाउनलोड गर्नुपर्ने जनाएको छ।

विभागले संस्थागत सेवाग्राहीलाई पनि मेरो कित्ता प्रणालीबाट सेवा दिने जनाएको छ। जसका लागि मेरो कित्ताको वेबसाइटमा विभागले संस्थागत सेवाग्राहीहरुलाई छुट्टै लगइन गर्ने व्यवस्था गरेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button