बिजनेश

काठमाण्डौका २० भीआईपी एरियाः जहाँ बस्नु ‘स्टाटास सिम्बोल’ मानिन्छ !

काठमाडौँ उपत्यकाभित्र कतिपय आवासीय क्षेत्र सरकारले व्यवस्थित प्लानिङ गरेर विकास गरेको छ । कतिपय ठाउँ निजी क्षेत्र (घरजग्गा व्यवयसायी)ले प्लानिङ गरेर आकर्षक आवासीय ठाउँका रूपमा विस्तार गरेका हुन् । केही आवासीय क्षेत्र यस्ता पनि छन्, जहाँ बस्ती बढ्दै गएपछि अव्यवस्थित रूपमै भए पनि आकर्षक आवासीय ठाउँको परिचय बनाउन सफल भए ।

काठमाडौँ, बुढानीलकण्ठ क्षेत्र योजनाबद्ध योजना बनाएर विकास गरेको बस्ती होइन । तैपनि, यो ठाउँ बसोबासका लागि सबैको रोजाइमा पर्न थालेको छ । पूर्वशहरी विकास सचिव एवं आवास विज्ञ किशोर थापा भन्छन्, ‘व्यवस्थित प्लानिङ गरेको ठाउँमा खुला ठाउँ धेरै हुन्छ, चौडा सडक हुन्छ । तर, अव्यवस्थित ठाउँमा व्यक्तिको निजी सम्पत्ति धेरै हुन्छ, खुला ठाउँ अत्यन्तै कम हुन्छ ।’

बुढानीलकण्ठकै कुरा गर्ने हो भने पनि त्यहाँ बसोबास गर्नेहरूले ठूलो क्षेत्रफलमा घर बनाएका छन् । घरभित्रै सम्पूर्ण सुविधा छन् र निजी रूपमै सुविधा उपभोग गर्छन् । त्यहाँ ‘एलिट’ वर्ग बसोबास गर्ने भए पनि खुला ठाउँ धेरै देखिँदैन ।

‘६० सालपछि हाउजिङ र कोलोनी बन्न थाले,’ थापा सुनाउँछन्, ‘कतिपय ठाउँलाई हाउजिङ र अपार्टमेन्टले आकर्षक आवासीय क्षेत्र बनाएका छन् । अहिलेको नयाँ पुस्तालाई मन पर्ने भनेको हाउजिङ र अपार्टमेन्ट भित्रका घर हुन् ।’ व्यवस्थित आवास परियोजनाभित्र घर सानो क्षेत्रफलमा भए पनि खुला ठाउँ धेरै छाडिएको हुन्छ ।

सैँबु/भैँसेपाटी 

सरकारले भैँसेपाटीमा सर्वसाधारणको जग्गा अधिग्रहण गरेर व्यवस्थित बस्ती विकास गरेको थियो । अहिले भैँसेपाटी र सैँबु क्षेत्रमा निकै आकर्षण छ । उपत्यकाकै सबैभन्दा आकर्षक आवासीय क्षेत्र बनेको छ, भैँसेपाटी र सैँबु क्षेत्र । यो ठाउँमा आकर्षण बढ्नुको मुख्य कारण आवास विकास नै थियो ।

भैँसेपाटीमा ठूला नेता, उच्चपदस्थ सरकारी कर्मचारी, व्यापारी बस्न थालेपछि अझ आकर्षण बढ्दै गयो । यहाँको प्लानिङ पनि पञ्चायतकालमा सुरु भएर बहुदल आएपछि सम्पन्न भएको हो । रिङरोडबाट नजिक रहेको र सडक पनि राम्रो भएको हुँदा अहिले पनि सैँबु र भैँसेपाटी पहिलो रोजाइमा पर्छ । यहाँको व्यवस्थित प्लानिङले पूरै क्षेत्रलाई हेर्ने नजर परिवर्तन गरिदियो ।

बुढानीलकण्ठ

पछिल्लो समय चर्चित र आकर्षक आवासीय क्षेत्र बनेको छ, बुढानीलकण्ठ क्षेत्र । यहाँ पनि व्यवस्थित योजना बनाएर बस्ती बसालिएको होइन, तर सबैका लागि आकर्षक आवासीय क्षेत्र बनेको छ । यो क्षेत्रमा नेता र उच्चघराना बस्न थालेपछि बिस्तारै आवासीय क्षेत्र बनेको हो । अहिले यो क्षेत्रमा ठूलठूला नेता, व्यापारी, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी बसोबास गर्छन् । यो क्षेत्रमा जुनसुकै आय, वर्ग भएका मान्छे बसोबास गर्छन् । उनीहरूले ठूला सडक र ठूलो क्षेत्रफलमा घर बनाउँदै गए ।

नजिकै शिवपुरी राष्ट्रिय निकुञ्ज र बुढानीलकण्ठ मन्दिर छ । देशकै राम्रोमध्येको बुढानीलकण्ठ स्कुल छ । महाराजगञ्ज चोकबाट बुढानीलकण्ठसम्मको सडक पनि चौडा भयो । नजिकै गंगालाल, न्युरो, टिचिङ, बाल अस्पताल सञ्चालनमा छन् । बुढानीलकण्ठ क्षेत्र महँगो र भरिँदै गएपछि बिस्तारै बस्ती टोखातिर फैलिन थालेको छ । नजिकै रहेका मण्डिखाटार र हात्तीगौंडा पनि आकर्षण बसोबास क्षेत्र बनेका छन् । बुढानीलकण्ठ र टोखाको बीचमा कोरिडोर नै विकास भइसक्यो । यो क्षेत्रमा तीव्र गतिमा बस्ती विकास भइरहेको छ । यहाँ खानेपानीको राम्रो सुविधा छ ।

कुलेश्वर

तत्कालीन सरकारले पञ्चायतकालमा सेवासुविधायुक्त घडेरी बनाएर कर्मचारीलाई बिक्री गरेपछि कुलेश्वर क्षेत्र व्यवस्थित बसोबासको आकर्षण बन्यो । व्यवस्थित बस्ती विकास हुँदै गएपछि व्यापारी, प्राध्यापक, नेता लगायतले पनि यहाँ घडेरी किनेर घर बनाउन थाले । अहिले कुलेश्वरमा बाक्लो बस्ती बसिसकेको  छ ।

डल्लु आवास क्षेत्र

यो पनि पञ्चायतकालमै व्यवस्थित योजना बनाएर विकास गरिएको बस्ती हो । पञ्चायती सरकारले व्यवस्थित योजना बनाए पनि निर्माण सम्पन्न भने बहुदल आएपछि मात्र भएको हो । व्यवस्थित अवासीय क्षेत्र भएपछि धेरैको आकर्षण बन्यो, डल्लु आवास क्षेत्र ।

गल्फुटार

यो पनि व्यवस्थित आवास क्षेत्र नै हो तर कुलेश्वरजत्रो होइन । सरकारले यहाँ कर्मचारीलाई मात्र नभएर सर्वसाधारणलाई पनि घडेरी बिक्री गरेको थियो । व्यवस्थित आवास परियोजनाभित्र मान्छेको आकर्षण बढ्दै गएपछि आसपासमा पनि घरघडेरीको माग बढ्न थाल्यो । र, सिंगो गल्फुटार क्षेत्र नै आकर्षक आवासीय क्षेत्र बन्न पुग्यो । त्यहाँ ठूलो सुविधा भएर होइन कि आवास योजनाले बस्ती विकास गरेको हो ।

ज्वागल एरिया

ललितपुरको ज्वागल पनि व्यवस्थित आवासीय क्षेत्र हो । कुनै समय ज्वागलमा निकै आकर्षण थियो । चारतारे हिमालय होटलको उत्तरपट्टि बागमती किनारमा जग्गा अधिग्रहण गरेर व्यवस्थित प्लानिङ गरिएको थियो । २०४७ सालपछि व्यवस्थित आवास क्षेत्र विकास गरिएको यो ठाउँमा मध्मयवर्गीय, पाटन क्याम्पस र पुल्चोक इन्जिनियरिङ कलेजका कर्मचारी र मध्यमखालका व्यापारी बस्छन् । अहिले बस्ती फैलिँदै बागमती किनारसम्म टम्म भरिएको छ ।

बालुवाटार र महाराजगञ्ज

बालुवाटार योजनाबद्ध विकास भएको ठाउँ होइन । तैपनि, यहाँ प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकको हेडक्वार्टर, नजिकै राजदबार नारायणहिटी, उच्चपदस्थ कर्मचारीको आवास, ठूला हस्पिटल, पुलिस हेडक्वार्टर, विभिन्न देशको दूतावास बसेपछि बालुवाटार र महाराजगञ्ज क्षेत्र आकर्षक आवासीय क्षेत्र बनेको हो । यहाँ स्थानीयबाहेक ठूलो आम्दानी हुने उच्चवर्गका मानिस बस्दै आइरहेका छन् । अहिले यहाँ घडेरी किनेर घर बनाउन थोरै रकमले पुग्दैन । यो क्षेत्रमा विदेशी कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी पनि बसोबास गर्दै आइरहेका छन् । यो क्षेत्रमा व्यवस्थित विकास नगरे पनि धेरै सुविधा उपलब्ध छन् । देशकै शक्ति केन्द्र भएपछि आममानिसलाई पनि बालुवाटार र महाराजगञ्ज क्षेत्रमा पक्कै विकास भइहाल्ने विश्वास सिर्जना भयो र धमाधम बसाई सरेका हुन् ।

विशालनगर

विशालनगर पनि व्यवस्थित बस्ती विकास गरिएको ठाउँ होइन । तैपनि, यहाँ बसोबास गर्न चाहने धेरै हुन्छन् । यो क्षेत्रमा पनि उच्च वर्गको बसोबास छ । दरबारबाट नजिक पथ्र्यो, सुरक्षा अवस्था मजबुत थियो । शहरको केन्द्रबाट नजिक भएकोले पनि विशालनगर आकर्षक आवासीय क्षेत्रमा परिणत भयो ।

नयाँ बजार खुशिबु

केशव स्थापित मेयर हुँदा जग्गा अधिग्रहण गरेर नयाँ बजारमा व्यवस्थित आवास विकास गरेका थिए । यो क्षेत्रलाई आवासीय क्षेत्र भनेर विकास गरे पनि नजिकै ठमेल भएको हुँदा व्यापारिक क्षेत्रमा परिणत भयो । अहिले ठमेलको क्राउड बिस्तारै नयाँ बजारतिर सर्दै गइरहेको छ । ठमेलका व्यवसायी, कर्मचारी र टुरिस्ट गाइड बस्ने ठाउँ पनि नयाँ बजार खुशिबु बनेको छ । पारिपट्टि चमती छ, जहाँ बस्ती बसिसकेको छ । व्यवस्थित प्लानिङकै कारण यो क्षेत्र आकर्षण बनेको हो ।

ताहाचल

ताहाचल क्षेत्र पञ्चायतकालदेखि नै आकर्षक आवासीय क्षेत्र बनेको हो । यो ठाउँमा राजा महेन्द्रका भाइहरू बसोबास गर्न ठूला बंगला बनाइयो । राजपरिवारका नातेदारले पनि यही ठाउँमा घडेरी किनेर घर बनाए । १९६० को दशकमै यहाँ पाँचतारे सोल्टी होटल सञ्चालनमा आयो । ताहाचल क्षेत्रमा व्यवस्थित बस्ती विकास नभए पनि उच्चवर्गका मानिस बस्न थालेपछि आफँैले विकास गरे । राम्रो सडक सुविधा भएको हुनाले पनि ताहाचल क्षेत्रमा आकर्षण बढेको हुन सक्छ ।

सानेपा र झम्सिखेल

सानेपा र झम्सिखेल क्षेत्र उच्चवर्ग बसोबास गर्ने ठाउँ हो । यहाँ विदेशी कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी पनि बसोबास गर्छन् । धनाढ्य परिवारको रोजाइमा पर्ने यो क्षेत्र रिङरोडभित्र सबैभन्दा आकर्षक आवासीय क्षेत्र हो । यहाँको जग्गाको भाउ उचालिएर सानोतिनो आम्दानी हुने वर्गले किन्न नसक्ने भइसकेको छ । अहिले सानेपा र झम्सिखेल क्षेत्र रेस्टुरेन्टको हब बन्दै गइरहेको छ । चौधरी ग्रुपको मुख्यालय यहीँ छ । पुल्चोकमा लबिम मल छ । ठूला र व्यवस्थित अपार्टमेन्ट बनेका छन् । ब्रिटिस स्कुल, आइडल मोडल स्कुल, सेन्टमेरिज स्कुल, सेन्टजेभियर्स स्कुल, डेभ स्कुललगायत उपत्यकाकै राम्रा स्कुल यस ठाउँमा भएकोले पनि यो प्रिमियम आवासीय क्षेत्र बनेको हो ।

इमाडोल

पछिल्लो समय इमाडोलमा पनि आवास बढ्दै गइरहेको छ । इमाडोलमा यातायातको सुविधा र जग्गाको मूल्य पनि तुलनात्मक रूपले सस्तो भएकाले पनि मान्छेको आकर्षण बढेको हो । यो क्षेत्रमा मध्यमवर्ग र निम्नमध्यम वर्गीय परिवारको बसोबास बढी छ । कुनै विकास भएर इमाडोलमा आकर्षण बढेको भने होइन ।

गोठाटार/पेप्सि/काँडाघारी 

यो माओवादी द्वन्द्वपछि बसेको बस्ती हो । गाउँबाट लेखेटिएर शहर पसेका मान्छे गोठाटार, पेप्सि र काँडाघारीमा बढी बसेका छन् । पछिल्लो समय सरकारी र निजी कर्मचारी, मध्यम खालका व्यापारीका लागि आकर्षक ठाउँ बनेको छ । पेप्सिकोला टाउन प्लानिङले अझै बस्तीको रूप लिइसकेको छैन, बाटो मात्र बनेको छ । तर, वरिपरि पूरै बस्तीले ढाकिएको छ । यहाँको बस्ती बिस्तारै गोठाटार र मूलपानी क्षेत्रतिर फैलिँदै गइरहेको छ । अहिले काठमाडौँका आवासीय क्षेत्रमा पेप्सि, काँडाघारी र गोठाटार पनि पर्छन् । यो ठाउँमा एयरपोर्टको पछाडि पर्छ । त्यहाँ पुग्न जडीबुटी हुँदै घुमेर जानुपर्छ । अहिले यस ठाउँमा ठूला अपार्टमेन्ट पनि बनिसकेका छन् ।

वनस्थली/रानीवन

रानीवन क्षेत्र इचङ्गु टाउन प्लानिङले गर्दा विकास भएको हो । रिङरोडनजिकै हुँदा यातायातको सहज पहुँच भयो । नजिकै मेडिकल कलेज छ । बसपार्क पनि नजिकै छ । नजिकै घनाजंगल छ, स्वच्छ हावा फेर्न पाइन्छ । काठमाडौँ बाहिरबाट आएका बासिन्दाले भरिएको ठाउँ हुनाले नयाँ बस्ती हो । यो ठाउँमा धेरैजसो कर्मचारी बसोबास गर्छन् । एउटाले घर बनाएपछि अर्कोलाई तान्दै जाँदा बस्ती बढ्दै गयो । यो ठाउँ मध्यम खालका व्यापारीको रोजाइमा पर्छ । काठमाडौँमा पानीको हाहाकार हुँदा पनि यो क्षेत्रमा पानीको सुविधा भइरहन्छ ।

बालकोट (कौशलटार एरियासमेत)

यो ठाउँ ठूला नेता र कर्मचारी बसेकाले आकर्षक आवासीय क्षेत्र बनेको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि बालकोट बस्दै आइरहेका छन् । यो ठाउँमा निजी क्षेत्रबाट व्यवस्थित आवास परियोजना विकास भयो । बालकोट, कौशलटार मेनरोडसँग जोडिएको छ । यो ठाउँ सेवासुविधा भएर वा विकासका प्रोजेक्ट बन्न लागेको हुनाले आकर्षण बनेको होइन, नेता र कर्मचारी बसेपछि बाटो पिच भइहाल्छ, पानी र बिजुली पनि पुग्छ भन्ने विश्वास आममानिसमा भएकाले बस्ती बसेको हो । यहाँको विकास भएको पनि धेरै भएको छैन । अहिले कौशलटार, बालकोट हुँदै बस्ती सिरुटारसम्म फैलिएको छ ।

अन्य
भक्तपुरको दुवाकोट, दधीकोट, सानो ठिमी, हात्तीवन, खुमलटार, सुनाकोठी, स्युचाटारलगायत ठाउँमा पनि आकर्षण बढ्दै गइरहेको छ । यी क्षेत्रले पनि आकर्षक आवासीय क्षेत्रका रूपमा परिचय बनाउँदै छन् । तर, योजनाबद्ध रूपमा व्यवस्थित तरिकाले विकास भने भइरहेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button