बिजनेश

सेयर बजारमा अहिलेसम्मकै ठूलो गिरावट : सुधार्न अब कसो गर्ने, लगानीकर्ताहरु के भन्छन् ?

काठमाडौं : सेयर बजारमा आइतबार ठूलो गिरावट आएको छ । सेयर बजार ६% ले घटेर नकारात्मक सर्किट लागेपछि नियमित समयभन्दा अगाडि नै बजार बन्द भएको छ । नेप्से सूचक १२३.३४ अंकले घटेको छ । घटेको अंकलाई आधार मान्दा नेपाली पुँजी बजारको इतिहासमै यो अहिलेसम्मकै ठूलो गिरावट हो । नेप्से सूचक ६% ले घटेपछि १९३२.११ विन्दुमा आएर रोकिएको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको थियो । बीचमा केही सम्हालिने प्रयास गरे पनि अन्ततः समय अगावै (२ बजेर १३ मिनेटमा) नकारात्मक सर्किट लागेर बन्द भएको हो ।

नियमित समय अनुसार बजार ३ बजेसम्म खुल्ने गर्छ । तथापि, बजारमा भारी अंकको गिरावट आउँदा पनि ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकमले भने उत्साह जगाइरहेको छ ।तर निरन्तर बढिरहेको बजार एकाएक सर्किट लागेर घट्ने अवस्थामा किन आइपुग्यो ? यो धेरैको चासोको विषय बनेको छ । धेरैले यसलाई मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षको असर हो भनेका छन् ।

मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि सेयर बजार एकाएक प्रभावित भएको छ । हाल लगानीकर्ताले सेयर धितोमा ७०% सम्म कर्जा पाउँदै आएका छन् । १२० दिनको औसत मूल्यलाई आधार मानेर कर्जा दिइने गरेको छ । मौद्रिक नीतिमार्फत उक्त व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख गरेपछि लगानीकर्तामा मनोवैज्ञानिक असर परेको देखिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।

तथापि, केन्द्रीय बैंकको मौद्रिक नीतिमा उल्लेख भएको यस विषयलाई मात्रै आधार मानेर बजार तल जान नहुने उनको भनाई रहेको छ । उनले भने, ‘केन्द्रीय बैंकको मौद्रिक नीतिको त्रैमासिक समिक्षामा उल्लेख भएको सेयर धितो कर्जाको पुनरावकोलन भन्ने वाक्यलाई लिएर मात्रै बजार यस्तरी घट्नु राम्रो होइन । यसबारेमा हामीले राष्ट्र बैंकसँग कुरा गरेका छौं । केन्द्रीय बैंक लगानीकर्ताको मागप्रति सकारात्मक छ ।’
केन्द्रीय बैंकले सेयर बजारलाई प्रभावित पार्ने विषयमा निर्णय लिनुपूर्व लगानीकर्तासँग छलफल गर्ने बताएको पनि उनले जनाकारी दिए । बजारमा अहिले अधिक तरलताको अवस्था रहेकाले पनि केन्द्रीय बैंकले सेयर बजारलाई असर गर्ने तरिकाले नीति नलिने उनको बुझाई छ । तथापि, केहीगरी केन्द्रीय बैंकले सेयर कर्जाको सीमा ७०% बाट ६५% मा नै झारिहाल्यो भने पनि बजारमा अधिक तरलता भएकाले त्यसको असर लगानीकर्तालाई नपर्ने उनको भनाई छ ।

साथै, केही लगानीकर्ताले केन्द्रीय बैंकको नीतिलाई अगाडि सारेर बजार घटाएर चलखेल गर्न खोजेको उनको तर्क छ । लगानीकर्ताहरुले भने अहिलेको अवस्थामा कुनै पनि हालतमा सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा परिमार्जन गर्न नहुने बताएका छन् । सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले अहिलेको अवस्थामा केन्द्रीय बैंकले सेयर कर्जाको पुनरावलोकनको कुरा नै उठाउन नहुने बताउछन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोको सीमा घटाएकाले केही महिनामा नै फेरि नीति परिर्वतन गर्न नहुने उनको भनाई रहेको छ । अहिलेको सेयर बजारको बढाई स्वाभाविक भएकाले नियामकले हस्तक्षेप गर्न जरुरी नरहेको उनको तर्क छ । उपाध्यक्ष फुल्लेलले भने, ‘अहिलेको सेयर बजारको सकारात्मक गति स्वाभाविक हो । यसमा नियामकले कुनै हस्तक्षेप गर्न आवश्यक छैन । अझै पनि सेयर बजारका अधिकांश कम्पनीहरु अन्डर भ्यालुकै अवस्थामा रहेका छन् ।’

यता, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पनि केन्द्रीय बैंकको मौद्रिक नीतिको समीक्षामा आएको सेयर धितो कर्जा पुनरावलोकनको कुराले सेयर बजारमा नकारात्मक प्रभाव परेको बताएका छन् । पछिल्लो केही समयदेखि बजार सकारात्मक गतिमा अगाडी बढेकाले नाफा बुक गर्नतर्फ लगानीकर्ता लाग्दा पनि यसको बढी प्रभाव देखिएको उनको भनाई छ । उनले भने, ‘केन्द्रीय बैंकको समीक्षाले बजारलाई केही प्रभावित पारेको देखिन्छ । जसका कारण लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा बजार बेस्सरी घटेको छ ।’

केन्द्रीय बैंकको नीतिको प्रतिक्षामा बस्न लगानीकर्ता नाफा बुक गरेको देखिन्छ । तथापि, बजारमा अधिक तरलताको अवस्था रहेकाले केही समयमा नै बजार सकारात्मक गतिमा अगाडि बढ्ने उनको भनाई छ । बजारको उकालो यात्रालाई निरन्तरता दिन सेयर धितो कर्जासम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राख्नुपर्छ ।

बजार सम्बन्धी अनेकन निराधार हल्लाहरु निर्मूल पार्नुपर्छ । बजार घटाउने बेलामा पटकपटक कालोधनको प्रसंगहरु उठाउने गरिन्छ । यसबाट लगानीकर्ता आत्तिनु नहुने अनुभवीहरु बताउँछन् । बजार विकासका लागि तत्काल ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको माग रहेको छ । यसो भएमा बजारले फेरि आफ्नो लय समाउनेछ ।
यता, लगानीकर्ताहरुसँगको भेटमा केन्द्रीय बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लगानीकर्तासँग सल्लाह नगरी बजारमा असर पर्ने कुनै पनि कदम नचाल्ने बताएका छन् । अनावश्यक हतोत्साही नहुन पनि उनले आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button