मनोरन्जन

दाेस्राे बिहेको अघिल्लो दिन नायिका श्वेताको भावुक स्टाटस: मैले मृत्यु रोजिनँ, जीवन रोजेँ

सामाजिक सञ्जालमार्फत उनले आफ्ना विगत र दोस्रो विवाहका विषयमा आफ्ना पीडा, अनुभव र आशंका उल्लेख गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘मनमा एउटा प्रश्न भने अवश्य छ- के यो पुरुषप्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र?’

हेर्नुहाेस्, उनकाे पूरा स्टाटस 

म जीवनको नवीन यात्रामा 

जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पलहरूलाई आत्मसात् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जेजस्ता पिर, व्यथा, दु:ख अनि कष्टहरूसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु।

‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेको अनेकन् प्रहार र त्यसबाट मैले भोगेका पीडाहरू केवल मलाई मात्र थाहा छ।

म देख्थें- मेरोअगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तीखा काँडा, ठूलठूला पत्थर अनि आगोको ज्वालाहरू छरपस्ट भएर छरिएका छन्। मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरूलाई पन्छाउनुपर्नेछ, पत्थरहरूलाई फुटाउनुपर्नेछ अनि आगोका ज्वालाहरूलाई नाघ्नुपर्नेछ।

‘के म यसो गर्न सकुँला र ! आँफैसँग प्रश्न गर्थें। आफ्नै प्रश्नमा आफैंले उत्तर दिन्थें-  ‘कि हुती हारेर मर्नुपर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’ अत: मैले मृत्युलाई रोजिनँ, जीवनलाइ नै रोजें। अनि जिन्दगीका हरेक समस्याहरूसँग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु।

‘अब उठ्नै सक्दिनँ कि’ भन्ने कमजोर भावले थिचेको, त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदोरहेछ। महिनैपिच्छे करिब हप्ता दिनका लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदोरहेछ। मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरूलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नुभन्दा पनि कठिन रहेछ।

तर मैले मेरा बहहरू व्यक्त गर्ने कोसँग ?  मैले साथी/संगतीहरूको भीडमा आँखा डुलाएर हेरें, तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ। आफन्तहरूको घेरामा खोजेँ, तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें। अत: मेरा हरेक दु:खमा म एक्लै रोएँ, पीडाहरूमा आफैं सम्हालिएँ, अनि अनेकन् समस्याहरूसँग एक्लै जुधिरहें।

‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरूले एउटा जीवनसाथी खोज्नका लागि नसुझाएका पनि होइनन्। तर एकपटक पुछिएको सिउँदोमाथि पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरू पाइन्छ र? फुटेको चुरासँगै चकनाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुसीको रङ भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुषप्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र? म मेरा हितैषीहरूलाई प्रश्न गर्थें।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु। त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।

तर मेरा परिवारका सदस्यहरूको निरन्तर प्रयास अनि साथी/संगतीहरू, अग्रज र दिग्गज व्यक्तक्तित्वहरूलगायत मेरा शुभचिन्तकहरूले प्रदान गर्नुभएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु। यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ- ‘के यो पुरुषप्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?

मलाई थाहा छ- ‘श्वेताका आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई/चार जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ। श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने, तर घरकी विधुवा बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ। तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैं मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरूको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र ईर्ष्याको सोच राख्ने दुई/चार जनाले स्वत: हार खानेछन्।

अत: कोरोना सन्त्रासबीच जुरेको खुसीको माहोलमा मैले मेरा धेरै मित्रहरू, गन्यमान्य व्यक्तित्वहरू, सञ्चारकर्मीज्यूहरूलगायत मेरा आफन्तहरू समेतलाई सामेल गराउन असमर्थ हुनेछु। महामारीको यो माहोलमा सीमित व्यक्तिहरूलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरू सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button