समाचार

अभिनेत्री अनुष्कालाई गर्भावस्थामा योग गर्न यसरी सघाउँदैछन् विराट

बलिउड अभिनेत्री अनुष्का शर्मा स्वस्थ रहन र सुन्दर देखिन नियमित व्यायाम र योग गर्छिन्। सामान्य अवस्थामा जस्तै उनी अहिले गर्भवती बेला पनि नियमित योग गरिरहेकी छिन्।

मुम्बई मिररका अनुसार अनुष्का र उनका पति विराट कोहली अचेल स्वास्थ्यप्रति थप संवेदनशील बनेका छन्। उनीहरूले कसरी स्वास्थ्यको ध्यान पुर्‍याइरहेका छन् भन्ने सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै खुलाएका छन्।

अनुष्काको पछिल्लो इन्स्टाग्राम पोस्ट उनी शिर्षासन गरिरहेकी छन्। यो योग आसनमा टाउको भुँइमा र खुट्टा माथितिर पारेर कुइनो र टाउकोका भरमा उभिनुपर्छ। तस्बिरमा अनुष्का यही आसनमा देखिएकी छन्। यसमा उनलाई श्रीमान विराटले खुट्टा समाएर सहारा दिएका छन्।

अनुष्काले फोटोसँगै क्याप्सनमा लेखेकी छन्, ‘योग मेरो दैनिकीको ठूलो हिस्सा हो। डाक्टरले गर्भवती हुँदा योगको यो आसन गर्न सक्छु भन्नुभयो। तर निश्चित चरणको मात्रै। यो शिर्षासन गर्न मैले भित्ताको सहारा लिएकी छु। थप सुरक्षित हुन मेरा प्रिय श्रीमानले आड र समर्थन दिएका छन्।’

अनुष्का अचेल यस्तै व्यायाम र योगमा बढी समय दिन थालेकी छन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अनुष्का पहिलोपटक आमाबुवा बन्दै छन्। यो कुरा विराट आफैंले केही समयअघि ट्वीटरमार्फत् तस्बिर सार्वजनिक गर्दै जानकारी दिएका थिए।

चिकित्सकहरू गर्भावस्थामा मन्द व्यायाम र योग गर्न सल्लाह दिन्छन्। अनुष्काले थप लेखेकी छन्, ‘यो योग चिकित्सको सल्ललाहपछि नै गरेकी हुँ। उहाँसँग म भर्चुअल माध्यमबाट जोडिरहेकी छु। गर्भावस्थामा पनि योगलाई निरन्तरता दिन सकेकामा म निकै खुशी छु।’

अनुष्काले गर्भवती भएदेखि समय-समयमा इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्यको जानकारी गराइरहेकी छन्। केही साताअघि उनले एउटा फोटो पोस्ट गरेकी थिइन् जसमा उनी घ्यू रङको कुर्ता-सलवारमा सजिएकी थिइन्। क्याप्सनमा उनले आफ्नो घर बस्ने दिनहरू आएको संकेत दिएकी थिइन्। उनी अब पूर्ण हिसाबले आफ्नो स्वास्थ्यको स्याहारमा लाग्ने बताएकी हुन्।

त्यस्तै उनले केही महिना अघिदेखि पोस्ट गरेको फोटामा पनि निकै खुसी देखिएकी छन्। कहिले समुद्र किनारमा त कहिले स्विमिङ पुलमा आफ्नो पेट स्याहारेको देखाउँदै फोटो खिचाएकी छन्।

अनुष्का र विराटले आफ्नो सन्तानको डेलिभरी मिति सन् २०२१ जनवरी भएको ट्वीटरमार्फत बताएका छन्।

विराट र अनुष्काको प्रेम सन् २०१३ मा सुरू भएको हो। उनीहरूको भेट एउटा स्याम्फुको विज्ञापन सुटिङक्रम भएको थियो।

विराटले एनडिटिभीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘सुटिङ सेटमा पहिलो पटक अनुष्कालाई देख्दा उनी अग्लो हिल जुत्तामा थिइन्। मभन्दा अग्ली देखिएकी थिइन्। म नबोली बस्नै सकिनँ। गएर बोलिहालेँ। तपाईंसँग योभन्दा अग्लो हिल छैन?’ भनेर जिस्किहालेँ। उहाँचाहिँ हजुर भन्दै बस्नुभयो। पछि आफैंले जिस्केको भनेँ।’

त्यो बेला विराटलाई अनुष्का निकै आत्मविश्वासी लागेको बताए।

उनीहरू एउटै विज्ञापनमा सँगै देखिएको केही समयपछि दुई बीचको सम्बन्धमा रहेको हल्ला फैलिएको थियो। उक्त सम्बन्धबारे अनुष्का र विराटले सन् २०१४ नोभेम्बरमा खुलासा गरे। दुईबीच ‘रोमान्टिक’ र सुमधुर सम्बन्ध भएको प्रशंसकहरूले बताएका थिए।

तर सन् २०१६ तिर उनीहरूको सम्बन्ध चिसिएको हल्ला भयो। अनुष्काका कारणले विराटले खेलहरू पनि राम्ररी खेल्न सकेनन् भन्ने हल्लाहरू बाहिरिए। यस विषयमा विराट आफैंले अनुष्काले सधैं सकारात्मक ऊर्जा मात्र दिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेर जानकारी नै दिन पर्‍यो।

अनुष्का र विराटको सम्बन्धले सन् २०१७ को अन्त्यबाट भने नयाँ मोड लियो। सन् २०१६ डिसेम्बरमै उनीहरू वैवाहिक सम्बन्धमा बाधिँदै छन् भन्ने हल्ला फैलिँदा त्यसलाई झुटो र अफवाह मात्र भनेको यो जोडीले डिसेम्बर २०१७ मा भने लगनगाठो गाँस्यो। विराट र अनुष्काको सन् २०१७ डिसेम्बर ११ मा विवाह भएको हो।

निकै शानदार ढंगले बिहे गरेका उनीहरू विवाहपछिका केही चाडपर्वमा सँगै खुसी देखिए। विवाहको झन्डै तीन वर्षपछि सन् २०२० को अगस्टमा भने उनीहरूले पहिलो पटक आमाबुवा हुन लागेको जानकारी दिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button