समाचार

धकेलाधकेल हुँदा वरिष्ठ नेता पौडेलको छातीमा समस्या : रिहाइको माग गर्दै तनहुँमा प्रदर्शन

तनहुँको व्यास नगरपालिका १ मा रहेको बुल्दी पुल उद्घाटन विवादमा प्रहरीसँग भएको झडपमा परी संविधानसभा सदस्य रामचन्द्र पोखरेलसहित तीन कांग्रेस नेता घाइते भएका छन् । संविधानसभा सदस्य पोखरेललाई प्रहरीले तीन पटक लाठी प्रहार गरेको कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

यसैगरी कांग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

सचिव आचार्यको टाउकोमा चोट लागेको र महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको सचिव बाँस्तोलाले बताए।

नेता पौडेलसहित कांग्रेस कार्यकर्ता पक्राउ

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित झण्डै आधा दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनिल श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेको कांग्रेसले बताएको छ ।

यस अघि उद्घाटनको विरोधमा प्रशासन घेराउमा पुगेका युवा संघ जिल्ला संयोजक ईश्वर बस्यालसहित युवा संघका सह–संयोजक भगवान श्रेष्ठ, नेता बादल आलेलगायत प्रहरी नियन्त्रणमा छन् ।

पौडेलको छातीमा समस्या

हाल प्रहरी कार्यालयमा रहेका नेता पौडेललाई केही नेतासँग भने भेट्न दिइएको छ । प्रदेशसभा सदस्य सरिता गुरुङ तथा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले उनलाई भेटेका छन्।

‘उहाँको छातीमा समस्या भएको भन्नुभएको छ,’ वाग्लेले भने । धकेला धकेल भएका कारण गाह्रो भएको बताएको वाग्लेले जानकारी दिए ।

 

रिहाइको माग गर्दै प्रदर्शन सुरु

नेता पौडेलको रिहाइको माग गर्दै कांग्रेसका नेता कार्यकर्ताले दमौली मुख्य चोकस्थित प्रहरी कार्यालय अगाडि नाराबाजी थालेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

निषेधाज्ञापछि नेता पौडेललाई छाड्छौंः सीडीओ

प्रहरी नियन्त्रणमा रहेका कांग्रेस वरिष्ठ नेता पौडेल सुरक्षित रहेको प्रशासनले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले पौडेलले नेता सुरक्षित अवस्थामा प्रहरी नियन्त्रणमा रहेको भन्दै साँझ छाडिने बताए । ‘उहाँ नगइदिएको भए हुन्थ्यो,’ उनले भने,‘निषेधाज्ञाका बेलामा उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका हौं । साँझ उहाँलाई छाड्छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button