समाचार

राजसंस्थाको पहिचान मेटाउने क्रम जारि, रत्‍नपार्क अब ‘शंखधर उद्यान’

काठमाडौँ — राजधानीको रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्क अबदेखि ‘शंखधर उद्यान’ नामाकरण गरिएको छ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । उक्त स्थानमा यसअघि राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्यले शनिबार शंखधर उद्यानमा निर्मित सालिकको अनामरण गरेका हुन् । उद्यान परिसरमै निर्मित मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको समेत सालिक अनामरण गरिएको छ ।

सरकारले नेपाल संवत् ११२० (२०५६ मंसिर ३ गते) साख्वा:लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उक्त दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाइन्छ । दुवै सालिक करिब २० लाख रुपैयाँ लागतमा निर्माण भएको जनाइएको छ । कलाकार महेश तुलाधरले सालिक निर्माण गरेका हुन् ।

ऐतिहासिक महत्व बोकेको रत्नपार्कमा राष्ट्रिय विभूतिसँगै अर्का राजनीतिज्ञको पनि शालिक राख्न थालिएपछि काठमाडौंबासी, विशेष गरी नेवार समुदायबाट यसको चर्को विरोध हुन थालेको छ ।

के हो इतिहास ? 

विसं २०१८ अगाडि अहिले पार्क रहेको रत्नपार्कको कुनै निश्चित नाम थिएन । रानीपोखरी, टुँडिखेल, वीर अस्पताल, बागबजार, घण्टाघर जस्ता नामले यो क्षेत्र परिचित थियो ।

यो स्थान उपत्यकाको केन्द्रमा पर्ने भएकाले २०१८ सालमा राजा महेन्द्रले यसै स्थानमा पार्क बनाउने सोच बनाए । तत्कालीन महारानी रत्नराज्यलक्ष्मी देवी शाहको नाममा पार्कको स्थापना गरे र रत्नपार्क नामकरण गरे । त्यसयता यो क्षेत्र रत्नपार्कको नामले परिचित भयो ।

वि.सं. २०५८ सालअघि विभिन्न समितिहरूको अधीनमा रहेको रत्नपार्क त्यसपछि भने काठमाडौं महानगरपालिकाको जिम्मामा आयो । नेपालमा भएका विभिन्न आन्दोलनहरूको केन्द्रविन्दु बन्नेको रत्नपार्क समयसँगै भत्केर अस्तित्व नै गुमाउने अवस्थामा पुगेको थियो ।

२०६२÷६३ को जनआन्दोलनमा रत्नपार्कभित्र रहेको रत्नराज्यलक्ष्मीको शालिक तोडफोड नै गरिएको थियो । त्यसयता उक्त शालिक महानगरपालिकाले लगेर राखेको सुन्नमा आएको छ ।

त्यसरी अस्तित्व सकिन थालेको रत्नपार्कलाई १८औँ सार्क शिखर सम्मेलनले पुनः जीवित बनायो । वि.सं. २०७१ मा नेपालमा आयोजित सार्क सम्मेलनका लागि सरकारको निर्देशनमा महानगरले रत्नपार्कको पुनःनिर्माण गरेको थियो ।

तर, स्थानीय तहको निर्वाचनपछि मेयर भएका विद्यासुन्दर शाक्यले रत्नपार्कको नाम नै परिवर्तन गरेर ‘शंखधर उद्यान’ राखिदिए ।

‘पृथ्वीनरायण शाहले मल्लहरूले राज्य गरेको काठमाडौं जितेका थिए’, पूर्वरक्षामन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधान भन्छन्, ‘तर, उनले मल्लकालीन दरबार, इमारत, मूर्ति, कला सबै जोगाएर राखे । अहिले राजतन्त्र हट्यो भन्दैमा उनीहरूको इतिहास मेटाउन मिल्छ त ?’

त्यस समयमा क्षणिक चर्चामा आउनका लागि शाक्यले यस्तो निर्णय लिएको र यसले नेपालको इतिहासलाई नै धरापमा पारेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

नाम परिवर्तन गरेर शंखधर उद्यान बनाउँदा रत्नराज्यलक्ष्मीको अपहेलना र शंखधरको पनि सम्मान गर्न नसकेको अहिले पनि स्थानीयहरू बताउँछन् ।

अहिले पुनः सो पार्कमा शंखधरसँगै पद्मरत्नको पनि शालिक राखिने भएपछि त्यसको चर्को विरोध हुन थालेको छ ।

 

‘इतिहास मेटाउने काम भएको छ’

हरेक कालखण्डमा एउटा इतिहास हुन्छ । त्यो इतिहासलाई मेटाउन नहुने पूर्वरक्षामन्त्री तथा हाल संघीय सांसद भीमसेनदास प्रधान बताउँछन् ।

‘पृथ्वीनरायण शाहले मल्लहरूले राज्य गरेको काठमाडौं जितेका थिए’, उनले भने, ‘तर, उनले मल्लकालीन दरबार, इमारत, मूर्ति, कला सबै जोगाएर राखे । अहिले राजतन्त्र हट्यो भन्दैमा उनीहरूको इतिहास मेटाउन मिल्छ त ?’

त्यसमाथि अहिले पनि तात्कालीन राजपरिवारका सदस्य जिउँदै छ । जसको नाममा रत्नपार्कको नामाकरण गरिएको थियो, उनी पनि जिउँदै रहेको अवस्थामा नाम नै परिवर्तन गरेर शंखधर वा पद्मधर तुलाधरको नाममा पार्क राख्न नहुने प्रधान बताउँछन् ।

‘अर्काको नाममा रहेको पार्कमा शंखधरको नाम राख्दा न रानीको सम्मान हुन्छ न शंखधर वा पद्मरत्न कसैको नै सम्मान हुन्छ’, उनी भन्छन्, ‘पद्मरत्न तुलाधरको घर लैनचौरमा छ । उनको मूर्ति त्यहीँ बनाउन सकिन्छ । रत्नपार्कमा राख्दा उनको योगदानको कदर हुन सक्दैन ।’

त्यस्तै शंखधर साख्वाको मूर्ति पनि अन्य कुनै स्थानमा राख्न सकिने प्रधान बताउँछन् । ‘शंखधरको मूर्ति तिनकुनेमा राख्न सकिन्छ’, उनी भन्छन्, ‘त्यस समयमा कृष्णगोपालजीलाई प्रस्ताव पनि गरिएको रहेछ । तर, पछि के भयो रत्नपार्कमा ल्याएर नाम नै परिवर्तन गरेर राखियो ।’

त्यो निर्णय निकै गलत भएको उनी बताउँछन् । ‘त्यसरी त कांग्रेसले कम्युनिस्टको मूर्ति ढाल्ने, कम्युनिस्टले कांग्रेसको मूर्ति ढाल्ने गर्छन्’, उनी भन्छन्, ‘भोलि राजावादीले जिते भने फेरि कम्युनिस्टको शालिक फाल्न सक्छन् । यसरी अगाडि बढियो भने त सबैको अस्तित्व समाप्त हुन जान्छ ।’

प्रधानका अनुसार हरेकको इतिहासलाई एउटा कालखण्डमा लेखेर राख्नुपर्छ । त्यसलाई मेटाउनु हुँदैन । त्यो ठाउँ रत्न रानीको नामबाट भएकाले उनकै नाम जोड्नुपर्ने उनी बताउँछन् ।

‘त्यहाँ शालिक राख्दा पद्मरत्नलाई पनि सम्मान हुँदैन र राष्ट्रिय विभूति शंखधरलाई पनि सम्मान हुँदैन’, उनी भन्छन्, ‘एउटाको शालिक हटाएर अर्काको राख्ने होइन । बरू त्यो खाली नै रहेको ठिक छ । अस्तित्व समाप्त पार्नु हुँदैन ।’

त्यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नारायणहिटी दरबारमा जनआन्दोलन पार्क निर्माण गरिएको थियो । त्यो पनि गलत भएको भीमसेनदास बताउँछन् । ‘जनआन्दोलन पार्क बनाउनु छ भने छुट्टै अर्को ठाउँमा बन्छ नि !’, उनी भन्छन्, ‘नाराणहिटी दरबार शाहकालीन दरबार हुन्थ्यो । त्यसलाई पार्क बनाएर अस्तित्व नै खराब बनाउनु त भएन नि !’ त्रिभुवन पार्कलाई पुनःस्थापना गरेझैँ रत्नपार्कलाई पनि गर्नुपर्ने उनी बताउँछन् ।

प्रताप मल्लले रानीको नाममा रानीपोखरी बनाए । त्यस्तैगरी राजा महेन्द्रले रानीको नाममा रत्नपार्क बनाए । अहिले आएर अरूको नाममा भएको इतिहास मेट्दै हिँड्न नहुने उनी बताउँछन् ।

‘गलत नजिर बसाल्ने काम नगरौँ’

कसैप्रति सम्मान गर्दा त्यहाँ राजनीतिकरण गर्न नहुने बाग्मती प्रदेश सांसद विराजभक्त श्रेष्ठ बताउँछन् ।

‘विदेशतिर हेर्ने हो भने धेरै वटा व्यवस्था परिवर्तन भएका छन्’, उनी भन्छन्, ‘तर, त्यहाँ पहिलेका शासकहरूलाई अहिले पनि सम्मान नै गरिन्छ । कसैको नाममा भएको सम्पदाको नाम नै परिवर्तन त गरिँदैन नि ।’

‘विदेशतिर हेर्ने हो भने धेरै वटा व्यवस्था परिवर्तन भएका छन्’, उनी भन्छन्, ‘तर, त्यहाँ पहिलेका शासकहरूलाई अहिले पनि सम्मान नै गरिन्छ । कसैको नाममा भएको सम्पदाको नाम नै परिवर्तन त गरिँदैन नि ।’

पद्मरत्न तुलाधरप्रति उच्च सम्मान भए पनि रत्नपार्कको आफ्नै इतिहास भएको श्रेष्ठ बताउँछन् ।

‘त्यसको नाम किन रत्नपार्क भयो, त्यो कुरा त बुझ्नुपर्‍यो नि !’, उनी भन्छन्, ‘इतिहासमा योगदान पुर्‍याएका मानिसहरूको शालिक राख्ने हो भने त रत्नकै प्रतिमा राख्नुपर्छ होला नि ।’

त्यसमाथि पद्मरत्नको शालिक शंखधर साख्वासँगै जोड्नु पनि नहुने उनी बताउँछन् । ‘वहाँहरू दुवै फरक व्यक्तित्व हो’, उनी भन्छन्, ‘एकै ठाउँमा प्रतिमा स्थापना गर्दा दुवैप्रति सम्मान हुन सक्दैन ।’

एउटाको इतिहासलाई स्थापित गर्नलाई अरूको इतिहासलाई मास्न नहुने उनी बताउँछन् । उनका अनुसार हेटौँडामा सहिद स्मारक पार्क बनाए जस्तै रत्नपार्कको पनि अस्तित्व संरक्षण गर्नुपर्छ ।

रत्नपार्कमा शालिक स्थापना गर्ने कुराले तत्काल राम्रो गरेजस्तो देखिए पनि भविष्यमा दूरगामी असर गर्ने र गलत नजिर बसाल्ने उनी बताउँछन् ।

यस्ता व्यक्तिहरू कुनै दलका वा समुदाय सीमितको व्यक्ति नभएकाले उनीहरूको सम्मान दिने काममा चुक्न नहुने उनी बताउँछन् । उनका अनुसार पद्मरत्नको प्रतिमा रत्नपार्कमा भन्दा पनि अन्य कुनै ठाउँमा राख्नु उचित हुन्छ ।

‘शंखधरसँग पद्मरत्नको कुनै तुलना नै छैन’

शंखधर साख्वासँग पद्मरत्न तुलाधरको तुलना नै नभएको प्रदेशसभा सदस्य जीवन डंगोल बताउँछिन् ।

‘मूर्ति राख्नुपर्ने व्यक्तिको औचित्य पुष्टि हुनुपर्‍यो नि !’, उनी भन्छिन्, ‘यसरी सबैको प्रतिमा राख्न खोज्ने हो भने रत्नपार्कभरि पनि राखेर अटाउँदैन ।’

उनका अनुसार पद्मरत्नको प्रतिमा स्थापना गर्ने हो भने उनी जस्ता धेरै अभियान्ताहरूको शालिक स्थापना गर्नुपर्छ । जुन कुरा सम्भव नै छैन ।

शंखधर साख्वासँग तुलना नै नभएको व्यक्तिको शालिक निर्माण गरेर महानगरपालिकाले नेपाली समाज तथा काठमाडौँलाई गिज्याउन खोजेको उनले आरोप लगाइन् । उनका अनुसार पद्मरत्नको शालिक राख्नु जरुरी नै छैन ।

 

‘इतिहास भनेको मेटाउनका लागि बनेको होइन’

त्यस्तै टुँडिखेल अकुपाइका संयोजक विजय श्रेष्ठ पनि पद्मरत्नको प्रतिमा स्थापन गर्ने कुरा निकै गलत रहेको बताउँछन् । ‘इतिहास भनेको मेटाउनका लागि बनेको होइन’, उनी भन्छन्, ‘कसैको अस्तित्व मेटाएर अरूको शालिक स्थापना गर्दा कसैप्रति पनि सम्मान दिन सकिँदैन ।’

पद्मरत्नका लागि अन्य सार्वजनिक स्थानहरू अहिले पनि बाँकी नै रहेको उनी बताउँछन् ।

‘विभिन्न सार्वजनिक स्थानहरू अहिले पनि खाली छन् । केही अस्तव्यस्त छन्, केही खाई पनि सकेका छन्’, उनी भन्छन्, ‘बाँकी भएको ठाउँमा पद्मरत्नको पार्क बनाउन सकिन्छ । तर, रत्नपार्कमा बनाउँदा न उनीप्रति सम्मान हुन्छ, न शंखधरप्रति नै ।’

‘पार्कमा रुखबिरुवा फुलाउने हो, मूर्ति होइन’

त्यस्तै रत्नपार्कमा मूर्ति राख्ने काम निकै गलत भएको भन्दै काठमाडौं महानगरपालिकाले एउटा पनि राम्रो काम नगरेको राजनीतिज्ञ एवं समाजसेवी वीरेन्द्रभक्त श्रेष्ठ बताउँछन् ।

रत्नपार्क शालिक राख्नुपर्ने आवश्यकता नै किन भयो भन्ने कुरामा आफू अलमलमा परेको श्रेष्ठ बताउँछन् । ‘यो त एउटा पार्क पो हो त’, उनी भन्छन्, ‘पार्कमा रुखबिरुवा फुलाउने हो, मूर्ति फुलाउने त होइन नि । अहिले त मूर्तिहरू फुलाउन थालिएको छ ।’

‘यस्तो मान्छेको हातमा शासन पर्‍यो’, उनी भन्छन्, ‘जसले सम्पदा, इतिहास, पुरातत्व सबैलाई विनास गरिरहेको छ । इतिहासलाई मोड्न खोजेको छ ।’

उनका अनुसार रानीपोखरीको निर्माणमा समेत गलत ताम्रपत्रको प्रयोग गरिएको तथा रत्नपार्कको पनि अस्तित्व नै सखाप पारिएको छ ।

रत्नपार्क शालिक राख्नुपर्ने आवश्यकता नै किन भयो भन्ने कुरामा आफू अलमलमा परेको श्रेष्ठ बताउँछन् । ‘यो त एउटा पार्क पो हो त’, उनी भन्छन्, ‘पार्कमा रुखबिरुवा फुलाउने हो, मूर्ति फुलाउने त होइन नि । अहिले त मूर्तिहरू फुलाउन थालिएको छ ।’

उनका अनुसार यस्तै अवस्था भएमा १० वर्षपछि फेरि अर्को इतिहास दोहोरिन्छ । त्यस समयमा इतिहास भनेर नै रहँदैन ।

एउटाको इतिहास अर्काले मेट्ने काम गर्दा भविष्यमा गलत नतिजा दिने उनी बताउँछन् ।

‘यो रानीप्रति गरिएको अपमान हो’ 

संस्कृतिविद् काशीनाथ तमोट 

२०१८ सालमा त्यस समयको आवश्यकता अनुसार रत्नपार्कको स्थापना गरिएको हो । त्यो रत्नपार्क अहिलेसम्ममा लाखौँ हजारौ मानिसको जीवनसँग तथा अनेकौँ घटनासँग जोडिएको छ । त्यसलाई पहिले ने नै शंखधर उद्यान भनेर नामाकरण गरियो । अहिले पुनः शंखधरको मूर्ति राख्ने भन्ने कुरा इतिहास मेटाउने काम हो । 

जसको नामबाट रत्नपार्क नामकरण गरिएको हो । वहाँ अहिले पनि जीवित नै हुनुहुन्छ । सरकारले राजकीय सम्मान दिएर नारायणहिटीमा नै राखेको छ । त्यस्तो व्यक्तिको नाममा रहेको ठाउँको नामलाई यसरी हटाउनु वहाँप्रतिको अपमान हो । 

काशीनाथ तमोट 

अर्को कुरा यहाँ कसैले पनि पद्मरत्न तुलाधरको, शंखधर साख्वाको प्रतिमा स्थापना गर्न माग गरेको छैन । 

जनआवाजबिना नै महानगरपालिकाले यस्तो काम गरेको छ । यो निन्दनीय काम हो । पद्मरत्न र शंखधर दुवै सांस्कृतिक व्यक्तित्व हुन् । तर, त्यस्ता निर्विवाद् व्यक्तिलाई राजनीतिकरण गर्नु दुवैको अवमूल्यन हो । 

हेर्दा राम्रो काम गरे जस्तो देखिन्छ । तर, यो दुवैको अवमूल्यन हुँदै जाने कुरा हो । एकै ठाउँमा दुवैको शालिक राख्दा एक पक्षले अर्को पक्षलाई नराम्रो मान्न थाल्छ । सर्वमान्य मान्छेका २  वटा पक्ष भए भने त्यो उनीहरूप्रतिको अवमूल्यन नै हो । 

अहिलेसम्म नेपालभर शंखधरको ३६ ठाउँमा मूर्ति राखिसकिएको छ । तर, यहाँ उहाँको प्रतिमा स्थापना गरियो भने उहाँको अवमूल्यन हुन्छ । किनभने उहाँका लागि जति पनि ठाउँ छ । अरूको अस्तित्व सखाप बनाएर उहाँको मूर्ति राख्नु भनेको उहाँप्रति गरिएको अपमान नै हो । 

त्यस्तै पद्मरत्नको विशाल भवन बन्दै छ । उहाँको मूर्ति त्यहाँ राख्न सकिन्छ । उहाँसँग सम्बन्धित धेरै ठाउँ छन्m त्यहाँ राख्दा पनि हुन्छ । तर, यहाँ राख्नुहुँदैन । 

काठमाडौंका जनतालाई खुसी पार्नका लागि यस्तो निर्णय गरेको हुनुपर्छ । तर, स्थानीय यसबाट खुसी होइन, दुखी हुने छन् । राज्यले त राज्यलक्ष्मीलाई उहाँको स्थानबाट हटाएको छैन । जीवनकालभरिका लागि सम्मानसाथ नै राखेको छ । यस्तो अवस्थामा यस्ता कामले उहाँलाई चोट पुर्‍याउँछ । 

जस्तै दरबार हाइस्कुलको नाम पनि परिवर्तन गरेर भानु मावि राखियो । तर, कसैले भानु मावि भनेर बोलाउँदैन । त्यो कागजमा मात्र सीमित भयो । रत्नपार्कको सन्दर्भमा पनि कागजमा मात्र सीमित हुन्छ । 

को हुन् साख्वा ?

शंखधर साख्वा नेपाल संवतका प्रवर्तक हुन् । उनले नेपाल संवतको सुरुआत गरेका थिए । कान्तिपुरको इलाछेंमा बस्ने व्यापारी साख्वा व्यापारी मात्र नभएर एक समाजसेवी पनि थिए । उनले वि.सं ९३६ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए ।

त्यस्तै तात्कालीन समाजमा शूद्र जातिलाई पशुपति प्रवेशमा बन्देज लगाइएको थियो । कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलाई कदर गरी शूद्र जातिलाई पशुपतिमा प्रवेश दिएका थिए ।

उनको योगदानलाई कदर गर्दैै नेपाल सरकारले २०५६ मंसिर ३ गते शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

को हुन् तुलाधर ? 

वामपन्थी राजनीतिज्ञ रहेका तुलाधर नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्ष थिए । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा लागेका तुलाधर २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय थिए ।

भाषिक समानताको आन्दोलनमा सक्रिय तुलाधर वामपन्थी राजनीतिज्ञ मात्र नभएर एक मानवअधिकारकर्मी समेत थिए । उनलाई नेपाली दलित मुक्ति आन्दोलनको अभिभावक, भरोसायोग्य नेता र असल अभियान्ताको रुपमा पनि चिनिन्छ ।

युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि पद्मरत्नको गहन भूमिका रहेको बताइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button