जिवन शैलि

अन्धकारको घेरामा इतिहासको प्रकाश छर्ने लिपि ज्ञान

२२ कात्तिक, काठमाडौं । आजभन्दा २६०० वर्ष पहिले भगवान् गौतमबुद्ध कहाँ जन्मिएका थिए भनेर प्रमाणित गर्ने लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपि अहिले जो कोहीले पढ्न सक्दैनन् ।

लुम्बिनीको मायादेवी मन्दिरको सम्मुखमा रहेको त्यो विशाल शिलास्तम्भलाई ध्यान दिएर कसैले हेर्‍यो भने स्पष्ट अक्षर देख्न सक्छ । तर, त्यो अक्षरमा के लेखिएको हो ? त्यो बुझ्नका लागि ब्राह्मी लिपि र पाली भाषाको ज्ञान हुनैपर्छ ।

भक्तपुरको चाँगुनारायण मन्दिरको ढोकैनिर एउटा स्तम्भले आजभन्दा १५०० वर्ष पुरानो इतिहासलाई छर्लङ्ग पारेको छ । तर त्यो पढ्न पनि जोकोहीको वशको कुरा छैन । यसका लागि लिच्छवि लिपि र संस्कृत भाषाको ज्ञान हुनैपर्छ ।

नेपालमा यस्ता सयौं अभिलेख, ताडपत्र, भोजपत्र जस्ता ऐतिहासिक स्रोतहरू छन्, जुन अध्ययन गर्नका लागि लिपिको ज्ञान अनिवार्य छ ।

वि.सं १९३७ तिर नेपालमा कसैले पनि प्राचीन अभिलेखको बारेमा जानकारी समेत नराखेको बेलामा भारतका पं भगवानलाल इन्द्राजीले नेपालका लिच्छविकालका र मल्लकालका केही शिलालेखबारे प्रकाश पारिदिए । त्यसपछि निरन्तर अभिलेख पढ्नका लागि लिपि र सम्बन्धित भाषाबारे चासो बढ्न थाल्यो ।

जुनसुकै क्षेत्रको प्रामाणिक इतिहास खोज्नका लागि लिपिको ज्ञान अनिवार्य शर्त हो

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि खुलेको इतिहास संशोधन मण्डलले त इतिहास अध्ययनमा ठूलै क्रान्ति ल्यायो । तर, पछिल्लो समय लिपिको अध्ययनमा कम मान्छेको चासो हुँदा कतै फेरि भगवानलाल इन्द्राजी जस्तै बाहिरबाट लिपि विशेषज्ञ बोलाएर हाम्रो इतिहास खोज्नुपर्ने बाध्यता आउने त होइन ? भन्ने चासो सरोकारवालामा बढ्न थालेको छ ।

ठूलाठूला घटनाको स्मरण, शाही आदेश या शाही घोषणाको लागि राखिएका शिलालेख, ताम्रपत्र, शिलापत्र जस्ता साहित्यिक स्रोतहरू इतिहासका निर्विवादित स्रोतहरू हुन् ।

तर, यस्तो अभिलेख अध्ययनका लागि समय अनुसार विकास भएका लिपि र सोही समय प्रचलनमा रहेका भाषाको बारेमा जानकारी राख्नै पर्छ । तर, पछिल्लो समय पुराना भाषा र लिपिको अध्ययन/अध्यापन कार्य राज्य र विद्यार्थीबाट समेत उपेक्षित बन्दै गएको छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. मदन कुमार रिमाल लिपि र पुराना भाषा पढ्नेहरूलाई राज्यले पर्याप्त अवसर दिन नसक्दा विद्यार्थीमा समेत आकर्षण कम भएको बताउँछन् । ‘लिपिको ज्ञानविना इतिहासको आधा पाटो अन्धकार हुन्छ ।’ रिमाल भन्छन् ‘तर यो विषयले न त राज्यको ढाडस पाएको छ, न त विद्यार्थीको माया । जेनतेन अहिलेसम्म चलिरहेको छ ।’

त्रिविको एउटा विभागले लिपिको अध्ययन गराउने गरेको भए पनि लिपिमा चासो दिने विद्यार्थीको संख्या अत्यन्त न्यून रहेको विभागले जनाएको छ ।

के हो लिपि ?

नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा लिपि अध्यापनरत सहप्रा. डा. महेश आचार्य सामान्यतया शाब्दिक ध्वनिलाई दृश्य चिह्नमार्फत् अभिव्यक्ति गर्ने कलालाई लेखन भनिन्छ र लेखन लिपिविना सम्भव छैन भन्छन् ।

१० औं शताब्दीपछिको लिपि नेवारी हो र यसलाई रञ्जना, भोजिमोल, गोलमोल जस्ता विभिन्न लिपिहरूले परिमार्जित गरेका छन् । जुनसुकै क्षेत्रको प्रामाणिक इतिहास खोज्नका लागि लिपिको ज्ञान अनिवार्य शर्त हो ।

अहिले नेपालमा देवनागरी लिपि र नेपाली भाषा प्रचलनमा छ । किंवदन्ती अनुसार देवताले स्वर्गबाट मर्त्यलोकमा पठाएको लिपि भएकोले यसलाई देवनागरी लिपि नाम दिइएको बताइन्छ । शंकरमान राजवंशीले आफ्नो पुस्तक ‘नेपाली लिपिविकास’मा हरेक शताब्दीमा कुनै न कुनै हिसाबले लिपि परिमार्जन हुँदै गएको बताउँछन् ।

जतिबेला अहिलेको जस्तो पुस्तक छाप्ने चलन थिएन, त्यतिबेलासम्म मान्छेहरू पुराना लिपिमा छापिएका पुस्तकलाई हातले हुबहु सार्ने गर्थे । हुबहु सार्दा अक्षर मान्छे अनुसार फरक हुन थाल्यो र लिपि बिस्तारै परिमार्जन हुँदै गयो भन्ने इतिहासकारको मत छ ।

लिपिको विकास : विकसित ब्राह्मीदेखि देवनागरीसम्म

इसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले नेपाल र भारतका विभिन्न स्थानमा ठूलाठूला शिलास्तम्भहरू राखे । जसमा एकैपटक विकसित भएको ब्राह्मी लिपि र पाली भाषाको प्रयोग गरेका थिए । अशोकको समयमा विकसित भइसकेको ब्राह्मीलाई इतिहासकारहरूले अशोकको समयभन्दा पहिले नै विकास भइसकेको मानेका छन् ।

त्यही ब्राह्मी लिपिदेखि हाल प्रचलनमा रहेको देवनागरी लिपिसम्म आइपुग्दा ५ दर्जनभन्दा धेरै लिपिको विकास भइसकेको विभिन्न साहित्यिक स्रोतमा उल्लेख छन् । ललितविस्तर नामक पुस्तकले ६४ वटा लिपिको बारेमा उल्लेख गरेको छ । जसमा ब्राह्मी, खरोष्ठी, पुस्करसारी, अंगलिपि, बंगलिपि, मगधलिपि आदि छन् ।

तन्त्रशास्त्रको पुस्तकमा राष्ट्रिय पुस्तकालयको नं ४६२८ को श्रीमतोत्तरतन्त्र भन्ने पुस्तकमा लिपिको प्रत्येक वर्णका फरकफरक देवता रहेको उल्लेख गरेको छ । जस्तो अको श्रीकण्ठवागेश्वरी, आको अनन्तआमोटी आदि रहेका छन् ।

हालसम्म भेटिएकोमध्ये पहिलो ब्राह्मी लिपि

ब्राह्मी लिपिको सुरुवात कहिले भयो ? भन्ने बारेमा यकिन जानकारी नभए पनि पहिलो पटक अशोकको स्तम्भमा उल्लेख भएको देखिएकोले हेमराज शाक्यले यसको अनुमानित समय विसं पूर्व २२६ देखि २३२ सम्म पुरानो रहेको मानेका छन् ।

अशोकको ब्राह्मी लिपिमा लेखिएको अभिलेख हाल नेपालको सिमानामा पर्ने २ ठाउँमा भेटिएको छ । बुद्धको जन्मस्थान लुम्बिनीमा रहेको शिलास्तम्भमा अशोकले राज्याभिषेकको २० औं वर्षमा आफैँ आएर त्यो स्तम्भ राखेको भन्ने कुरा उल्लेख गरेका छन् ।

त्यस्तै, अर्काे कपिलवस्तुको निगलीहवामा रहेको कनकमुनि बुद्धको जन्मस्थानमा अशोकले नै राखेको अर्काे स्तम्भ छ । सो स्तम्भमा लेखिएको सो अभिलेखमा अशोकले आफ्नो राज्याभिषेकको १४ औं वर्षमा सो अभिलेख लेख्न लगाएको उल्लेख गरेका छन् । अशोकले नै प्रकाशमा ल्याएकोले पनि ब्राह्मी लिपिलाई कताकतै अशोक लिपि पनि भन्ने चलन छ ।

लिच्छविकालमा प्रचलनमा रहेका दुई लिपि

मानदेवको समयदेखि १० औं शताब्दीसम्म दुई किसिमका लिपिहरूको विकास भए । यीकालमा लेखिएका अधिकांश साहित्यहरू संस्कृत भाषामा लेखिएका छन् । ब्राह्मी लिपिको केही विकसित स्वरुपमा तयार पारिएको पूर्वलिच्छवि लिपि ईसाको चौथोदेखि सातौं शताब्दीसम्म प्रचलनमा आएको देखिन्छ ।

हेमराज शाक्यको नेपाल लिपि प्रकाशका अनुसार गुप्ताक्षरसँग मिल्दोजुल्दो रुपमा रहेको यो लिपिलाई ब्रह्मीलिपिको द्वितीय रुप समेत मान्ने चलन छ । चाँगुको अभिलेख,  लाजिम्पाटको विष्णुविक्रान्त, पलाञ्चोकको विजयश्री भगवतीको अभिलेख आदि पूर्वलिच्छवि लिपिका उदाहरणहरु हुन् ।

त्यसपछिको झण्डै ५ सयवर्षसम्म उत्तर लिच्छविलिपि प्रचलनमा आयो । यो लिपिको लेखनशैली शीर्ष चिह्न प्रायः त्रिकोण रुप लेखिने र अक्षरको आकार केही मात्रामा पछिल्तिर ढल्किने गरी लेखिने भएकोले यसलाई नै कुटिलाक्षर समेत भन्ने गरिएको हेमराज शाक्यको मत छ ।

सातौं शताब्दीदेखि १२ औं शताब्दीसम्म प्रचलनमा रहेको यो लिपिलाई कताकतै कुटाक्षर पनि भन्ने गरिन्छ । यसलाई सिद्धमातृका लिपि पनि भनिन्छ ।

राजा नरेन्द्रदेवले राख्न लगाएको पाटनको सौगोलटोलको शिलालेख, पाटन कुम्भेश्वरस्थित उमा महेश्वरको पादपीठमा लेखिएको गुणकामदेवको अभिलेख, पाटन थ्यागलटोल, पशुपतिको चौगिर्दाभित्रको शिलापत्र आदि उत्तर लिच्छवि लिपिका उदाहरणहरु हुन् ।

यसबाहेक लिच्छविकालको अनुमानित पाँचौंदेखि छैटौं शताब्दीको बीचमा सामान्य प्रचलनमा रहेको मध्यएसिया लिपिमा पनि केही पुस्तक लेखिएको भए पनि यसको प्रचलन निकै कम रहेको थियो । सो लिपिमा रत्नकेतु परिवर्त महायान सूत्र र दशभूमिश्वर महायान सूत्र जस्ता एकाध पुस्तक मात्रै लेखिएको पाइन्छ ।

मध्यकालको नेवारी र अन्य लिपि

मध्यकालमा नेपाल खण्डित भएपछि विभिन्न ठाउँमा विभिन्न लिपिको विकास भयो । काठमाडौं उपत्यकामा नै धेरै लिपिहरूको विकास भए । कसैले गोप्य मन्त्र लेख्नको लागि समेत नयाँ लिपिको आविश्कार गरे । सप्ताक्षरी लिपि त्यसको एउटा उदाहरण हो । कसैले चलनचल्तीकै लिपिलाई सुन्दर बनाउने नाममा फरक किसिमको लिपि तयार पारे ।

काठमाडौंदेखि तिब्बत हुँदै अन्य मुलुकसम्म पुगेको रञ्जना लिपिको विकास पनि यही कालमा भएको थियो । यो लिपि अहिले चीन, जापान, तिब्बत लगायतका महायानी बौद्ध देशहरूमा फैलिइसकेको छ ।

११ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म बढी प्रचलनमा रहेको यो लिपिमा पाटनको जोयावहालस्थित तेजनरसिंह शाक्यको कारणब्यूह महायान सूत्र, काठमाडौं कमलाछि टोलस्थित पूर्णहर्ष बज्राचार्यको घरमा भेटिएका नीलपत्र आदि भेटिएको छ । यसमा नै धेरै अभिलेख समेत लेखिएको पाइएको छ ।

त्यस्तै, यस कालखण्डमा बज्रयानीहरूको अक्षरतन्त्रको प्रचारको लागि सप्ताक्षरी कूटाक्षर पनि प्रचलनमा आयो । ह क्ष म ल व र यं भन्ने सातवटा अक्षर समाविष्ट भएकोले पनि यसलाई सप्ताक्षरी भनिएको हो । यसको विकास १३ औं शताब्दीतिर भएको मानिन्छ ।

नेवारी लिपि

यस लिपिलाई नेपालका विभिन्न प्रकारका प्राचीन लिपिहरुमध्ये व्यापक रुपमा चलेको र धेरै वर्षसम्म व्यवहार हुँदै आएको सरल एवं सुगम लिपि भन्न सकिन्छ । खासगरी यो लिपि नेवार जातिले बोल्ने भाषाको लागि तयार पारिएको लिपि हो । ९ औं शताब्दीदेखि प्रचलन भई २१ औं शताब्दीसम्म पनि प्रचलनमा आएको नेवारी लिपिको उदाहरण राष्ट्रिय अभिलेखालयस्थित लंकावतार तालपत्र संख्या २८, पाटन गुईटोल चैत्यको शिलालेख सं १४४ आदिमा पाउन सकिन्छ ।

यसबाहेक पनि ११ औं शताब्दीदेखि १७ औं शताब्दीको पूर्वाद्र्धसम्म प्रचलनमा आएको भुजिँमोल लिपि, अनुमानित १३ औं शताब्दीदेखि १७ औं शताब्दीसम्म चलेको मानिने गोलमोल लितुमोल, क्केमोल, कुंमोल, हिमोल, पाचुमोल जस्ता लिपिहरूमा पनि धेरै साहित्य लेखिएका छन् ।

यसबाहेक ईशाको नवौं शताब्दीपछि किरातवंशी राजाहरूले तयार पारेको किराँत (चन्द्रपुलिङ) लिपि, नेपाल र भारतमा पूर्वलिच्छवी एवं गुप्तलिपि चलेको एक/डेढ शताब्दीपछि तिब्बतका सम्राट स्रङचङ गम्पो मन्त्रीको आज्ञानुसार तयार पारिएको तिब्बती लिपि, मैथिली, बंगला, शारदा, उत्कल, तामिल, गुजराती लिपि आदि पनि मध्यकालमा विकास भएका मुख्यमुख्य लिपिहरू हुन् ।

अहिले प्रचलनमा रहेको देवनागरी लिपि

अहिले नेपाली भाषीले प्रयोग गर्ने देवनागरी लिपिको इतिहासलाई हेर्दा यो १७ औं शताब्दीदेखि अहिलेसम्म चल्दै आएको लिपि हो । तर, देवनागरी लिपिकै नामबाट १० औं शताब्दीदेखि १५ औं शताब्दीसम्म पनि केही साहित्य लेखिएको देखिन्छ । जसमध्ये १० औं शताब्दीमा सुरु भएको देवनागरी लिपिलाई प्राचीन देवनागरी र १७ औं शताब्दीदेखि सुरु भएको लिपिलाई हेमराज शाक्यले सामान्य देवनागरी लिपि भनेर व्याख्या गरेका छन् ।

प्राचीन देवनागरी लिपिमा लेखिएका अभिलेखहरूमा ५१२ ने.सं.को जयस्थितिमल्लको पाटन कुम्भेश्वरको अभिलेख र पशुपति चौगिर्दाभित्र रहेको ने.सं ५२३ को जयधर्ममल्लको अभिलेख आदि छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button