समाचार

सिमा विवादमा सेनापति थापाले भारतीय सेनाप्रमुखसँग राखेका चार बुँदा के थिए ?

काठमाडौं : नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु दुई साताअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक एकपक्षीय रुपमा निर्माण गरेर वैशाख २६ गते ‘लकडाउनको मौका’मा उद्घाटन गर्‍यो। नेपालसँग सामान्य परामर्श पनि नगरीकन निर्माण गरिएको यो सडकको स्वभाविक रुपमा नेपालमा व्यापक विरोध तथा आलोचना भयो।

यसैबीच भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले नेपालमा भइरहेको विरोधबारे एउटा राजनीतिक अभिव्यक्ति दिए। चीनको आडमा त्यस्तो विरोध भएको आशयसहितको प्रतिक्रिया दिएपछि उनी विवादमा तानिए।

भारतीय सेनापतिबाट त्यस्तो अभिव्यक्ति आएपछि नेपाली सेनापतिले पनि त्यसमा बोल्‍नुपर्ने वा ‘काउन्टर दिनुपर्ने’ भन्दै दबाबयुक्त बहस चल्यो। सिमा विवादमा सेना चुप लागेको गुनासो र आरोप पनि जंगीअड्डाले खेप्‍नुपर्‍यो।  तर प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘उपयुक्त समयमा उपयुक्त फोरममा आफूले यसबारे कुरा राख्‍ने’ बताए र तत्काल केही प्रतिक्रिया दिएनन्। पेसागत मर्यादा र जिम्मेवारीको संवेदनशिलताका कारण उनको यो कुटनीतिक मौनता स्वभाविक थियो र अर्थपूर्ण पनि थियो। तर सार्वजिनक रुपमा व्यक्त गरेको प्रतिवद्धता पुरा गर्ने मौका उनी पर्खिरहेका थिए।

भारतीय सेनापतिको हालै सम्पन्‍न तीन दिने भ्रमणको अवसरलाई निकै सतर्कताका साथ उपयोग गर्दै सेनापति थापाले  त्यो प्रतिबद्धता पुरा गरेका छन्। भारतीय समकक्षीसँग सिमा विवादबारे स्पस्ट दृष्टिकोण राखेका छन्। जंगीअड्डाको उच्च स्रोतले भन्यो, ‘सेना प्रमुखसँगको भेट वार्तामा सेनापतिले आफ्नो क्लियर पोजिसन राख्‍नुभएको छ।’

केही अलमल र तनावपछि ढिलो गरी काठमाडौं आएका समकक्षी पाहुनालाई न्यायो स्वागत गर्नुपर्ने दायित्व एकातिर थियो भने अर्कोतिर सिमा विवादमा उनले दिएको अभिव्यक्तिलाई सम्झाउँदै आफ्नो पोजिसन राख्‍नुपर्ने अवस्था  पनि थियो। यी दुवै कामलाई कुटनीतिक सतर्कताका साथ पुरा गरेका छन्। भारतीय सेनाप्रमुखको स्वागत सत्कारमा पनि कुनै कमी ‘फिल’ नहुने गरी आफूले दिनुपर्ने सन्देश पनि पर्याप्त रुपमा दिएको जंगीअड्डाको दाबी छ।

कात्तिक १९ गते तीन दिने भ्रमणका लागि नेपाल आएका भारतीय सेना प्रमुखको पहिलो दिन औपचारिक कार्यक्रम थिएन। तर त्यो दिन उनको सेनापतिसँग अनौपचारिक भलाकुसारी भयो। दोस्रो दिन बिहानदेखि नै नरवणे सैनिक मुख्यालयमा व्यस्त भए। जंगीअड्डमा सामूहिक र दुई सेना प्रमुखहरूबीच एक्लाएक्लै पनि औपचारिक  वार्ता चल्यो। त्यही दिन बेलुका सेनापतिले समकक्षीको सम्मानमा आयोजना गरेको विशेष रात्रीभोज (ब्याङक्‍वेट) मा भएको अनौपचारिक कुराकानी अर्थपूर्ण थियो। त्यहाँ पूर्व सेनापतिहरू पनि सहभागी थिए।

भारतीय सेनाप्रमुखसँग औपचारिक भेटवार्ता तथा अनौपचारिक भलाकुसारीमा सेनापति थापाले चारवटा बुँदामा केन्द्रित भएर आफ्ना भनाइ राखेका थिए। सेनापतिले राखेको पहिलो बुँदा वा  बटमलाइन थियो: ‘नेपाली जनताको फैसाला र चाहनालाई सम्मान गर्न नेपाली सेना सधै प्रतिवद्ध छ।’

खासगरी संसदको दुवै सदनको दुई तिहाइले संविधान संशोधन पारित गरेर सरकारले जारी गरेको  नयाँ राजनीतिक नक्शालाई संस्थागत गरेको सन्दर्भमा उनले यो भनाइ राखेका थिए।नेपाल सरकारले जेठ ७ गते भारतले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्‍यो। नयाँ नक्सा संविधान संशोधनमार्फत निशान छापमा समेत समावेश भइसकेको छ। नयाँ नक्सासहितको संविधान संशोधन संसदको दुवै सदनबाट पारित भएर असार ४ गते जारी भइसकेको छ।

भारतीय सेनाप्रमुखसँग सेनापति थापाले राखेको दोस्रो बुँदा थियो खुला सिमाको नियमन र व्यवस्थापनको विषय। खुला सिमाका कारण दुवै देशले जोखिम र चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सेनापतिले  दुवै देशको सुरक्षाका लागि सिमाको व्यवस्थित नियमन महत्वपूर्ण भएकोले यसको व्यवहारिक व्यवस्थापन हुनुपर्ने भनाइ राखेका थिए। समकक्षी सेना प्रमुखले यसमा सकारात्मक प्रतिक्रिया दिएका थिए।

सेनापतिको तेस्रो बुँदा थियो, ‘सार्वभौमिकताको अभ्यास गर्न हामी स्वतन्‍त्र छौं र सक्षम छौं ।’ आन्तरिक मामिलामा बेलाबेलामा हुने बाह्‍य हस्तक्षेप तथा चलखेललाई लक्षित गर्दै उनले यो भनाइ राखेका थिए।

सेनापति थापाले समकक्षीसँग राखेको चौथो बुँदा थियो, ‘कसैकाविरुद्ध भूमि प्रयोग हुन नदिने प्रतिद्धता।’ उनले दुवै छिमेकीको महत्वपूर्ण हितप्रति नेपाल सचेत रहेको र आफ्नो भूमिलाई कुनै पनि छमेकीविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिवद्ध एवं नेपालले  पनि छिमेकीबाट त्यही अपेक्षा गर्ने बताएका थिए।

सेनापतिले राखेका यी चारबुँदाले दुई देशबीचको सिमा विवादको समाधानलाई सहज बनाउन वातावरण तयार गर्ने विश्‍वास गरिएको छ। सेनापतिको यो ‘फिडब्याक’ लाई भारतीय सेनाप्रमुखले दिल्ली संस्थापनसँग पनि राख्‍ने अपेक्षा गरिएको छ। नक्सा प्रकरणपछि दुई  देशबीच देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला भएको भारतीय सेनापतिको यो भ्रमणपछि सम्बन्ध सुधारका संकेतहरू देखिएका छन्।

झन्डै एक वर्षअघि २०१९ नोभेम्बर २ मा भारतले नेपालको भूभाग लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सिमा विवादले बल्झिएको हो। नक्सा सच्चाउनका लागि नेपालले औपचारिक अनुरोधसहित पहल भइरहेका बेला वैशाख २६ गते भारतका रक्षमन्त्री राजनाथ सिंले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेपछि नक्सा प्रकरणले जटिल मोड लियो।

नक्सा सच्चाउनका लागि राजनीतिक र कुटनीतिक दुवै तहबाट भएको पहललाई भारतले वास्ता नगरेपछि नेपाल सरकारले जेठ ५ गते भारतले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्‍यो। त्यसलाई संविधान संशोधन गरेर संस्थागत गरियो। यसमा भारतले अप्रशन्‍नता व्यक्त गर्‍यो। त्यसपछि  भारतसँगको सम्वाद लगभग ठप्प भएको थियो।

सरकारले जारी गरेको नयाँ नक्शा समावेश गर्न संसद्‌बाट संविधान संशोधन पारित हुँदै गर्दा असार ३ गते असार ३ गते सेनापति थापा कालापानी भ्रमण गरेर एउटा सन्देश दिन खोजेका थिए। सरकार र संसदको निर्णयप्रति ऐक्येवद्धता  र सम्मान व्यक्त गर्दै कालापानी पुगेका सेनापतिले मातृभूमिको रक्षाका लागि सेनाले सधै प्रतिवद्ध र संवेदनशील रहेको बताएका थिए।

सेनापति थापा र सशस्‍त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल भ्रमण गरेको दार्चुलाको छाङरु र घाटीबगर त्यही क्षेत्र हो, जुन भारतले अतिक्रमण गरेर फौज राखेको नेपाली भूमि कालापानीबाट झन्डै १० किलोमिटरको दुरीमा पर्छ। छाङरुमा सशस्त्रले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। छाङरु नजिकै घाँटीबगरमा सेनाको अस्थायी क्याम्प बसेको छ। सेनापति र आइजीपीले यी दुवै बेसको निरीक्षण गर्दै त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ खटिन हौसला दिएका छन्। सेनापति थापाले आफ्नो भूमि रक्षाका लागि संवेदनशिल हुन र आवश्यक परेको खण्डमा सेनाले साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए।

सुरक्षा नेतृत्वको त्यो भ्रमण,निर्देशन अनि  प्रतिवद्धताले आफ्‍नो भूगोलको सुरक्षाप्रति राज्यको संवेदनशीलता झल्किएको थियो। नागरिकस्तरमा यसको स्वामित्व अनूभूति पनि भएको छ। नेपाली सेनाले घाँटीबगर-छाङरु गोरेटो बाटो निर्माण गरेपछि विदेशी भूमि टेकेर सदरमुकाम आवत–जावत अवस्था अन्त्य भएको छ। छाङरुबासी अब स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button