समाचार

ज्वरो आउनुको मतलब कोरोना होइन

केही दिनअगाडिको कुरा हो, एक जना मेरा कलाकार मित्रको फोन आयो– सर, म … बोलेको, मेरो छोरालाई ज्वरो आएको छ। भोलि उसलाई लिएर हजुरकोमा आउनुपर्‍यो। कति बजेतिर आउँ होला ? कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको यस अवस्थामा अनलाइनबाट बिरामीहरूलाई सेवा दिने गरेको छु। तपाईँ जुम या ह्वाट्सएपमा सम्पर्क गर्न सक्नुहुन्छ। बिरामीको बारेमा के कस्तो छ भनी सोध्दा ज्वरो ९८.४ डिग्री फोरेनहाइट रहेछ। जिउ दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, स्वाद र गन्ध थाहा नपाउने, दिसा पातलो हुने आदि लक्षण थिएन। घरमै आइसोलेटेट भएर बस्ने, आराम गर्ने, झोलीय पदार्थ प्रशस्त मात्रामा खाने भन्ने सल्लाह दिएँ। ३–४ दिनपछि विनाकुनै औषधि ठीक भई पुनः सामान्य अवस्थामा आए। यो त एउटा उदाहरण मात्र हो।

कोराना भाइरसको महामारी (कोभिड–१९) बाट संक्रमित हुनेहरूको संख्या दिन दुगुना रात चौगुना किसिमले बढिरहेको यस अवस्थामा मानिस त्रसित छन्। घाँटी अलिकति खस्खसायो, खोकी लाग्यो, सामान्य ज्वरो आयो भने पनि यसलाई विनाकारण कोरोनाको लक्षणसँग जोड/घटाउ गर्न थाल्छन्। कि कतै कोरोना भाइरसबाट संक्रमित त भइन ? कोरोना महामारीको बीच हाल अहिले डेंगु र मौसमी फ्लुका बिरामीहरू पनि देखिन थालेका छन्। यी तिनै प्रकार भिन्न भिन्न रोगहरूको लक्षण एकापसमा केही हदसम्म मिल्दोजुल्दो छ। कोरोना कालको यस्तो अवस्थामा, कसैलाई ज्वरो आयो भने बिरामीले आफूलाई कोरोना संक्रमित मानेर भयभित भइहाल्छ। यसो गर्नुहुँदैन  किनभने ज्वरो आफैँमा कुनै रोग होइन। शरीरको आन्तरिक कुनै रोगको लक्षण हो। ज्वरो आउनुको मतलब कोरोना होइन। डेंगु ज्वरो या मौसमी ज्वरो (फ्लु) को लक्षण पनि हुन सक्छ या हुन सक्छ कि यो सामान्य ज्वरो हो। केअन्तर छ कोरोना, डेंगु र फ्लुमा ?

डेंगु (भाइरस) को ज्वरो  

डेंगु ज्वरोको संक्रमण चार किसिमका भाइरसबाट हुन्छ। एउटा व्यक्ति आफ्नो जीवनमा कयौँपल्ट डेंगु ज्वरोको चपेटामा आउन सक्छ। डेंगु संक्रमित मच्छर एडिज एजिप्टाइ नामक मच्छरको टोकाइबाट हुन्छ।  दुई या तिन दिन १०२ देखि १०५ फोरेनहाइटसम्म ज्वरो आउन सक्छ, बिस्तारै घट्छ। आँखाको गेडी दुख्नु, मांसपेसी, जोर्नीहरूका साथै हड्डीमा दर्द हुनु, थकान महसुस हुनु, खानामा रुचि नहुनु,  वाक्वाकी लाग्नु, वान्ता हुनु, जिउमा रातो/रातो दाग देखिन सक्छ। यस रोगमा प्लेटलेट्सको संख्या कम हुनाले बिरामीको अवस्था बिग्रन्छ। यदि समयमा नै उपचार गरिएन भने बिरामीको मृत्यु पनि हुन सक्छ। रोगीलाई कति दिनसम्म कष्ट हुन्छ त भन्दा डेंगु ज्वरोबाट ग्रस्त बिरामीलाइ सात दिनसम्म कष्ट पीडा हुन सक्छ।  शारीरिकरूपले एकदम कमजोर हुँदा रोगी बेडरेस्टमा रहन्छ।

कोरोना भाइरस (कोभिड–१९)

यो स्वास÷प्रस्वाससम्बन्धी रोग हो। पहिलेबाट जो व्यक्ति (जीर्ण) रोगी छन् उनीहरूका लागि भने यो घातक छ। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा भाइरस फैलिने खतरा बढी हुन्छ। यसको लक्षणमा १०२ देखि १०५ डिग्री फोरेनहाइटसम्म पनि ज्वरो आउन सक्छ। सुक्खा खोकी लाग्नु, स्वास फेर्न गाह्रो हुनु, थकान, मांसपेसी र शरीरमा दर्द, टाउको दुख्नु, सुँघ्ने या खाने कुराको स्वाद लिने क्षमता ह्रास हुनु, घाँटीमा ख्यास–ख्यास हुनु, बेचैनी महसुस हुनु, बान्ता हुनु या पातलो दिसा (डायरिया) हुनु आदि।  कोरोना संक्रमित व्यक्तिमा चारदेखि पाँच दिनपछि लक्षणहरू देखिन्छ। यो लक्षणअनुसार १४ दिन वा यो भन्दा बढी समयसम्म बिरामीमा तकलिफ रहन सक्छ।

इन्फ्लुन्जा भाइरस

मौसम परिवर्तनका साथ यो भाइरस अक्टुबर महिनामा सुरु भइ अन्तसम्म सक्रिय रहन्छ। जुन जनवरी र फरवरी महिनासम्म रहन्छ। यो पनि इन्फ्लुन्जा भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा या हाच्छयुँ गर्दा  वा उसले छोएको वस्तु छुनाले एकअर्कामा फैलन्छ। यसका प्रमुख लक्षणमा सामान्य १०० देखि १०४ डिग्री फोरेनहाइटसम्म ज्वरो आउन सक्छ। घाँटी खस्खसाउँछ। घाँटी दुख्नु, भोक नलाग्नु, सुक्खा खोकी लाग्नु, कफ नआउनु, नाकबाट पानी बग्नु या नाक बन्द हुनु, टाउको दुख्नु, शरीरमा दर्द हुनु, थकान महसुस हुनु, केटाकेटीहरूमा बान्ता ÷डायरिया हुनु पनि यसका लक्षण हुन्। तीनदेखि चार दिनसम्म व्यक्ति बढी संक्रामक हुन्छ यो रोग लागेमा। सात दिन या सो भन्दा बढी समयसम्म व्यक्तिलाई  यसबाट कष्ट हुन सक्छ।

केही खास लक्षणहरू पहिचान गरौँ  

कोरोना भाइरस (कोभिड–१९) मा खानाको स्वाद लिने, नाकले सुँघ्ने, गन्ध थाहा पाउने क्षमता समाप्त हुनु। लगातार सुक्खा खोकी लाग्नु। डेंगुमा चाहिँ ज्वरो आउनुका साथै शरीरमा रातो गोलो दाग हुन्छ। शरीरको जोर्नी र हड्डीमा असह्य दर्द हुन्छ। त्यसैगरी इन्फ्लुन्जामा भने ज्वरो आउला जस्तो महसुस हुन्छ। नाकबाट पानी बग्छ या बन्द हुन्छ।

कुन रोगमा कुन किसिमको तकलिफहुँदैन  भन्नेबारे पनि थाहा पाइराख्नु राम्रो हुन्छ। इन्फ्लुन्जा संक्रमणका कारण स्वास लिन तकलिफ हुँदैन । भए पनि बहुतै कम। कोरोना भाइरस (कोभिड–१९) मा एकदमै कम व्यक्तिलाई छातीमा भारीपन महसुस हुन्छ। डेंगुमा बिरामीलाई सुक्खा खोकी र स्वास÷प्रस्वाससम्बन्धी तकलिफ हुँदैन।

प्रायः सबैका लक्षण लगभग उस्तै हुन्छन्। कोरोना, डेंगु र इन्फ्लुन्जा भाइरसको लक्षण लगभग उस्तै ऊस्तै हुन्छ। यदि कुनै पनि एउटा लक्षण तपार्इँमा छ भने सर्वप्रथम त आफूलाई आइसोलेट गर्नुपर्छ। आफ्नो फेमिली डाक्टर एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक जो पनि हुन सक्छ। चिकित्सकको सल्लाह लिने। तपाईँले भनेको तकलिफ (लक्षण) सुनेर चिकित्सकले कोरोनाको टेस्ट गराउने सल्लाह दिन्छन् भने मात्र जाँच गराउने गर्नुपर्छ।

हरेक ज्वरोलाई कोरोनाको लक्षण नठान्नूस्

ज्वरो आयो भन्नेबित्तिकै आफूलाई कोरोना संक्रमित नठान्नूस्। तर सतर्क भने हुनैपर्छ। कोरोना पुष्टिका लागि आरटी–पिसिआर जाँच गराउनुहोस्। यसका अलावा शरीरमा अक्सिजनको स्तर कति छ भन्ने जान्नका लागि घरमा आक्सिमिटर राख्नुहोस्। शरीरको अक्सिजन लेबल के कति छ जाँच पनि गर्नुहोस्।  शरीरमा अक्सिजनको स्तर ९२ प्रतिशत भन्दा कम छ भने सावधान हुनु जरुरी छ।

यी पाँच नियम पालना अनिवार्यरूपले गर्नुपर्छ– ज्वरो प्रत्येक ३ घन्टामा थर्मामिटरले जाँच गर्ने। एक अर्काबाट कम्तीमा ६ फिटको दूरी कायम गर्ने नियम पालन गर्ने। मनतातो पानी पिउने। सिजनअनुसारको फलफूल, हरियो सागपात बढी मात्रामा सेवन गर्ने। झोलीय पदार्थको मात्रा आफ्नो खानामा बढाउने। हर्बल (तुलसी, अदुवा, गुर्जो, बेसार) काडाको सेवन फाइदाजनक छ। यदि ज्वरो कम भएन भने चिकित्सकसँग अनलाइन सम्पर्क गर्नुहोस्।

कुन रोगका रोगी अस्पताल भर्ना भएमा कति दिन बस्नुपर्ला भन्ने जिज्ञासा पनि धेरैले राखेका देखिन्छ। सामान्यतया कोरोना (कोभिड–१९) मा ४ देखि १४ दिन या त्यो भन्दा बढी। डेंगुमा ३ देखि ७ दिन या यो भन्दा बढी। इन्फ्लुन्जामा २ देखि ५ दिन या सो भन्दा बढी बस्नुपर्ने हुन सक्छ।  यो कुरा रोगीको उमेर, उसको शारीरिक अवस्था र रोगको स्थिति कस्तो छ। यसमा भर पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button