राजनीति

बालुवाटारमा ओली र ५ भाइ बीच चर्काचर्की !!

ओलीको मलाई असफल पार्न खोजेको भन्दै आक्रोश

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आलटालविरुद्ध शुक्रबार नेकपाका ५ सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । यो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।

सो बैठकले कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गर्यो ।
पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाइनुपर्ने ५ नेताको जोड छ । सोही अनुसार ५ नेताले ओलीलाई बुझाउन लिखित पत्र नै तयार पारे ।

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सामूहिक अनुरोध गर्ने निर्णयसँगै शनिबार धुम्बाराहीमै भेला भएर नेताहरु बालुवाटारका लागि हिँडे । लिखित पत्र बोकेर नेताहरु बालुवाटार पुगेपनि भेट भने सुखद हुन सकेन  ।
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।

‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल  पार्न खोज्ने ?’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।

बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाज िश्रेष्ठले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीको सचिवालय बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर लिखित पत्र बुझाएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

तर बैठकमा प्रधानमन्त्रीले बैठक बोलाउन राजी नभएका हुन् ।  प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबताएको जानकारी दिए । ५ नेता भने एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button