मनोरन्जन

ओस्कारमा छानिएको उत्कृष्ट ताइवानी फिल्म, फिल्म प्रेमीले छुट्टाउने नहुने

ताइवानको ताइपेइ सहरमा बस्ने परिवारको कथा हो, ‘इट ड्रिंक म्यान वुमन’। चाइनिज मास्टर सेफ मि.सु र श्रीमतीको निधनपछि एक्लै स्याहारेका तीन जवान छोरीको कथा।

मास्टर सेफ सु आफ्नो स्वादिलो परिकार बनाउने सीपका कारण साथीभाइमाझ प्रिय छन्। तर यही प्रियता घरमा कायम राख्न उनको सोच र संकोचले दिँदैन।

उनी परम्परागत खालका बुबा हुन्, जो छोरीहरूसँग आफ्नो मनका भाव खुलेर पोख्न सक्दैनन्। बरू खाना पकाउने सौखमा रमाएर निजी जीवनका पीडा भुलाउँछन्।

छोरीहरूको हाल पनि उस्तै छ। उनीहरू बुबालाई सम्मान गर्छन्। तर घरमा आफ्नो निजी जीवन खुम्चिएको महसुस गर्छन्।

यो परिवारको मेनुमा सबै खालको स्वाद भेटिन्छ तर पनि कताकता के नपुगेको अवस्था छ। बुबाछोरीमात्रै नभई दिदीबहिनीको सम्बन्धको हाल पनि यस्तै छ।

सुका तीनै जना छोरीमा स्वतन्त्र जीवन बाँच्ने उत्कट चाहना छ। तर एक्ला बुबा र उनको बिग्रँदो स्वास्थ्यले कताकता रोकिएको महसुस गर्छन्।

तीनै दिदीबहिनी जवान छन्। खानाको मेनुमा परिकार फेरिएझैं उनीहरु नयाँ सम्बन्ध र नयाँ प्रेमको स्वाद चाख्ने क्रममा छन्। तीनै दिदीबहिनीको आफ्नै जीवन बाँच्ने अलग सपना र तरिका छन्।

फिल्ममा ठूली दिदी कलजेजमा पढाउँछिन् जो पुराना असफल प्रेमका कारण नयाँ जीवन अघि बढाउन सकेकी छैनन्। माइली बहिनी एयरलाइन्समा काम गर्ने महत्वकांक्षी युवती हुन् जो चाँडै घर छोड्न चाहन्छिन्। उनको प्रेम जीवन पनि जटिल खालकै छ। प्रेमको मामिलामा कान्छी बहिनी भने यी आफ्ना दुई दिदीभन्दा अगाडि छिन्।

फिल्म अघि बढ्दै यी तीन दिदीबहिनीको बाहिरी जीवनसँगै पारिवारिक जीवनमा पनि व्यापक हेरफेर आउन थाल्छ। बुबाछोरी र दिदीबहिनीको सम्बन्धमा नयाँनयाँ आयाम थपिन्छ। यस्तै कथा बोकेको ‘इट ड्रिंक म्यान वुमन’ माया र प्रेमका फरक फरक रङ र स्वाद महशुस गराउने फिल्म हो।

परिवार र प्रेमको कथामा फिल्ममा खाना र खाना खाने टेबल केन्द्रीय पात्रको रुपमा आउँछ। यही टेबलमा फिल्मका मुख्य पात्र खाना अगाडि राखेर अतृप्त मनका कुरा गर्छन्। उनीहरू पुराना मूल्य तोड्दै नयाँ मूल्यको खोजी पनि गर्ने ठाउँ हो। फिल्ममा भोजनलाई प्रतीकात्मक रुपमा यौन तृप्तिसँग पनि जोडिएको छ।

बिरामी हुँदा पनि ठीक छु भनेर आफूलाई बलियो देखाउने र छोरीहरुसँग आफ्नो भावना लुकाउने बुबा मि. सु नेपाली समाजका चिरपरिचित बुबाभन्दा फरक लाग्दैनन्।

निर्देशक आङ लीले फिल्ममा बुबा र छोरीबीचको अन्तरलाई परम्परा र आधुनिकताको भिन्नताका रूपमा गजबसँग स्थापित गरेका छन्। कथा सामान्यजस्तो लागे पनि फेमेली ड्रामा इट ड्रिंक म्यान वुमनका पात्रहरू आफ्नै अन्तरमनको चाहनामा जेलिएका छन्।

थोरै संवादमा धेरै भन्ने शैली अपनाइएको यो फिल्मको कथावाचन शैली पनि सरल छैन। फिल्मले दर्शकलाई धेरै ठाउँमा सप्राइज दिँदै जान्छ।

ली विश्वचर्चित एसियाली निर्देशक हुन्। चिनियाँ मूलका ताइवानी ली खासगरी ‘क्राउचिङ टाइगर हिडन ड्रागन’, ‘लाइफ अफ पाइ’, ‘ब्रोकब्याक माउन्टेन’का निर्देशकका रूपमा बढी चिनिन्छन्। तर उनको करिअर माथि उठाउनमा इट ड्रिंक म्यान वुमन फिल्मको भूमिका पनि कम छैन।

इट ड्रिंक म्यान वुमनले सन् १९९४ को एसिया प्यासिफिक फेस्टिभलमा बेस्ट फिल्म र सम्पादनतर्फ पुरस्कार जितेको थियो।

अमेरिकामा पढेर हलिउडसँगको सहकार्यमा फिल्म निर्माण निर्देशन गर्ने ली एसियाको प्रतिनिधित्व गर्ने सर्वाधिक सफल निर्देशकमध्ये पर्छन्। उनका फिल्महरूले ओस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट विदेशी भाषाको फिल्मजस्ता विधामा अवार्ड जितेका छन्।

इट ड्रिंक म्यान वुमन भने विदेशी भाषातर्फ ओस्कारको अन्तिम पाँचमा पर्न सफल ताइवानी फिल्म हो।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button