समाचार

कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयातमा सिन्डिकेट !

काठमाडौँ — कोरोना संक्रमणले जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर आयात खुला गर्न सरकारले निर्देशन दिए पनि यसमा सिन्डिकेट रहेको पाइएको छ । औषधि व्यवस्था विभागले सीमित कम्पनीलाई मात्रै आयात गर्न अनुमति दिँदा रेमडेसिभिरको अभाव छ । जसका कारण बिरामी अझै कालोबजारीमा औषधि खरिद गर्न बाध्य छन् ।

तस्बिर: रेमडेसिभिर

रेमडेसिभिर परीक्षणका लागि मात्रै प्रयोग हुँदै आएको थियो । करिब दुई सातायता भने आधिकारिक रूपमै संक्रमितलाई रेमडेसिभिर चलाउन थालिएको छ । यो औषधि नेपालमा दर्ता छैन तर महामारीलाई ख्याल गर्दै आकस्मिक औषधिको सूचीमा राखेर सरकारले खुला आयातको अनुमति दिन विभागलाई निर्देशन दिएको थियो ।

विभागले साउन ३१ गते यती फर्मा, सिनर्जी ओभर्सिज भियोभिस लाइफ साइसेन्सलाई र हाम्रो मेडिसिनलाई मात्रै रेमडेसिभिर आयात गर्न अनुमति दिएको थियो । यी कम्पनीले भारतबाट औषधि ल्याइरहे पनि मागअनुसार नआउँदा सहज उपलब्ध छैन । औषधि अभाव हुँदा बिरामीले ७ हजार रुपैयाँभन्दा बढी नपर्ने एक भाइललाई ७० हजारसम्म तिर्दै आएका थिए । कोरोना संक्रमणका कारण जटिलता पैदा भएर आईसीयूमै भर्ना हुने बिरामीको संख्या बढिरहे पनि विभागले रेमडेसिभिरको सहज उपलब्धताका लागि पहल गरेको छैन । ‘कम्पनीहरूको निवेदन र कागजात हेर्दा अनुमति नदिनुपर्ने कुनै कारण देखिँदैन,’ विभागका एक कर्मचारीले भने, ‘कम्पनी र पदाधिकारीबीच ढोका थुनेर घण्टौं छलफल हुन्छ तर निर्णय हुँदैन ।’

औषधि आयात गर्न मन्त्रालयले निर्देशन दिए पनि विभागले अटेरी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । ‘परीक्षणका लागि मात्रै ल्याउने निणर्य हुँदा थोरै कम्पनीलाई छानेर औषधि ल्याउन दिनु ठीक थियो । अब जोसुकैलाई प्रयोग गर्न मिल्छ भनेपछि सबै कोभिड अस्पतालले रेमडेसिभिर खरिद गरेर चलाऊन् भनेर विभागलाई आयात बढाउन निर्देशन दिइएको हो,’ उनले भने ।

औषधि आयातका लागि कम्पनी छान्न समय लागेको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताए । ‘मापदण्ड पुगिसकेकाले पुरानै आयातकर्ताले जतिसक्दो बढी औषधि ल्याऊन् भनेर उनीहरूलाई नै प्राथमिकता दिएका हौं । ती कम्पनीले पहिलेभन्दा सस्तो मूल्यमा रेमडेसिभिर उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्,’ उनले भने, ‘मापदण्ड पुगेका अन्य कम्पनीको मापदण्ड पुग्यो भने अनुमति दिउँला ।’ आयातमा सीमितता भए पनि बजारमा अहिले रेमडेसिभिरको अभाव नभएको उनले दाबी गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइको बैठकले कात्तिक १३ गते रेमडेसिभिर आयात खुला गर्ने निर्णय गरेको थियो । लगत्तै मन्त्रालयले विभागलाई ‘खराब अवस्थालाई मध्यनजर गर्दै रेमडेसिभिर आयात गर्न खुला गर्नू’ भनेर निर्देशन दिएको थियो ।

आयातका लागि मापदण्ड पुगेका कम्पनीहरूले सस्तो र सहज रूपमा औषधि भित्र्याउने भनेर निवेदन दिइरहेका छन् । एक कम्पनीका प्रतिनिधिले भने पाँच सय भाइल औषधि निःशुल्क दिने सर्तमा मात्रै आयात अनुमति दिने विभागले जनाएको उल्लेख गरे । ‘एक भाइल नै ६ हजार रुपैयाँ पर्छ । हामीसँग विभागले पाँच सय भाइल औषधि निःशुल्क मागेको छ,’ उनले भने ।

औषधि सहजै नपाउँदा अधिकांश कोभिड अस्पतालका बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै रेमडेसिभिरका लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘अब हामीले पनि केही औषधि हाम्रै अस्पतालमा भर्ना हुने बिरामीका लागि स्टक राख्नुपर्ने भएको छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button