समाचार

केयूमा अनलाइन कक्षा शुल्कबारे विवाद

कोरोना महामारीका कारण सुविधा नै नलिएका विषयको शुल्क बुझाउन विद्यार्थी असहमत

काठमाडौँ — कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट पठनपाठन गराउँदै आएको काठमाडौं विश्वविद्यालय (केयू) मा शुल्क विवाद देखिएको छ । विश्वविद्यालयले कक्षाकोठामै पठनपाठन सञ्चालन गरेसरह अनलाइन कक्षाको शुल्क बुझाउन ताकेता गरेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

केयूअन्तर्गतका स्कुलमा शुल्क विवाद देखिएको प्राध्यापकहरूले जनाए । स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले मंसिर १५ सम्म शुल्क बुझाए छुट दिने सूचना जारी गरेका छन् । असोज २२ मा जारी सूचनामा कात्तिक ३० सम्म शुल्क बुझाए १० प्रतिशत र मंसिर १५ सम्म बुझाए ७ प्रतिशत छुट दिने उल्लेख छ । उक्त समयमा नबुझाए साविककै शुल्क बुझाउनुपर्ने स्कुल अफ साइन्सका डिन कन्हैया झा र इन्जिनियरिङका डिन डम्बरबहादुर नेपालीले बताए ।

विद्यार्थीले भने उक्त कार्यको विरोध गरेका छन् । ‘वैकल्पिक माध्यमबाट पठनपाठन भएको हो, शुल्क पनि कसैलाई पनि मर्का नपर्ने गरी लिनुपर्ने हाम्रो माग हो,’ स्कुल अफ इन्जिनियरिङका छात्र शैलेश मिश्रले भने । शिक्षा मन्त्रालयले शुल्क उठाउने बाटो खोलिदिए पनि वैकल्पिक कक्षाको शुल्क लिने वैज्ञानिक मापदण्ड नतोक्दा विवाद देखिएको उनले बताए । विश्वविद्यालयले पठनपाठनबापत ‘ट्युसन फी’ सहित पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, स्वास्थ्य बिमा, कम्प्युटर, पठनसामग्री, प्रयोगात्मक कक्षा, ल्याब, इन्टरनेटलगायतमा शुल्क लिने गर्छ ।

विद्यार्थीले भने ट्युसन फीबाहेक अन्य शुल्क नतिर्ने बताएका छन् । ‘हामीले अनलाइनबाट कक्षा लिएका छौं, त्यो बापत तोकिएको ट्युसन फी तिर्छौं,’ मिश्रले भने, ‘सुविधा नै नलिएको शीर्षकमा शुल्क तिर्दैनौं ।’ स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस, स्कुल अफ एजुकेसन र स्कुल अफ साइन्सका विद्यार्थीले पनि अनलाइन कक्षाको शुल्कबारे मापदण्ड तोकिनुपर्ने बताएका छन् । सुविधा नै नलिएको शीर्षकमा रकम छुट हुनुपर्ने उनीहरूको माग छ ।

केयूले लकडाउन भए पनि वैशाखदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेको थियो । ‘अनलाइन कक्षामा विश्वविद्यालयको भौतिक संचरनाको उपयोगलगायत अन्य कुनै पनि खर्च भएको छैन,’ मिश्रले भने, ‘विद्यार्थीले घरमै बसेर पढ्दा बरु उनीहरूलाई नै खर्चको भार बढेको छ, पूर्ण शुल्क लिने विश्वविद्यालयको निर्णय जायज छैन ।’ विद्यार्थीहरूको विभागीय क्लबले पनि विज्ञप्ति जारी गरेर पूर्ण शुल्क लिने निर्णयको विरोध गरेका छन् ।

इन्जिनियरिङका विद्यार्थीले ट्युसन फीबाहेक अन्य शीर्षकमा २६ हजार शुल्क बुझाउनुपर्छ । ‘अनलाइन कक्षाबापत ट्युसन फीको ५६ हजार दिन्छौं, कोरोनाका कारण अन्य सुविधा लिएकै छैनौं, २६ हजार अहिले विश्वविद्यालयले छुट दिनुपर्छ,’ मिश्रले भने । प्राध्यापकहरूले पनि विद्यार्थीको मागमा समर्थर्न जनाएका छन् । विद्यार्थी पनि अहिले मर्कामा रहेकाले सुविधा नै नलिएको शीर्षकको रकम लिन नहुने उनीहरूको तर्क छ । स्कुल अफ साइन्सकी छात्रा सिर्जना श्रेष्ठले आफूहरूको पीडा विश्वविद्यालयले नबुझेको आरोप लगाइन् । ‘अनलाइन कक्षा भएपछि अन्य सुविधा लिएकै छैनौं, कसरी शुल्क बुझाउने ?’ उनले प्रश्न गर्दै भनिन्, ‘विद्यार्थीको कुरा कसैले सुन्दैन, डिनहरू हाम्रो हातमा छैन भनेर पन्छिनुहुन्छ ।’

केयू प्राध्यापक संघका सभापति विवेक बरालले विद्यार्थीको माग जायज रहेको बताए । ‘खास ठूलो विषय हैन तर विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीको कुरा चासोपूर्वक लिएनन्, विद्यार्थीले अनलाइन कक्षा नै लिन पनि छाडेका छन्, विवाद बढ्दै गएको छ,’ उनले भने । विद्यार्थीहरूले भने विश्वविद्यालयका पदाधिकारीले मागहरू बेवास्ता गरेका कारण थप आन्दोलन चर्काउने बताएका छन् । विद्यार्थीहरूको सोमबारको छलफलले रिले अनशनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका रजिस्ट्रार सुवोध शर्माले विद्यार्थीले भर्ना हुँदा नै तोकिएको सम्पूर्ण शुल्क बुझाउनुपर्ने तर्क गरे । ‘शुल्क वादविवाद गर्ने विषय नै होइन । अतिरिक्त क्रियाकलाप, वर्कसप भएको छैन, यो कुरा सत्य हो । तर त्यो नगराई डिग्री दिन मिल्दैन । सहज अवस्थामा गर्छौं,’ उनले भने । केही विद्यार्थीले मात्रै शुल्कको विषयमा असहमति जनाएको उनले दाबी गरे । ‘असन्तुष्ट पक्षसँग विद्यार्थी कल्याण निर्देशनालयमार्फत संवाद हुन्छ । पत्राचार भइसकेको छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button